अनलाइन कक्षाको पारिश्रमिक नपाएका आंशिक त्रिविका प्राध्यापक धर्नामा

श्राेतः इन्टरनेट

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका अनलाइन कक्षाको पारिश्रमिक नपाएका आंशिक प्राध्यापक दुई दिनदेखि उपकुलपति कार्यालयमा धर्ना बसिरहेका छन् ।

उनीहरूले बिहीबारबाट कक्षा र परीक्षा बहिष्कार गर्दै आएका छन् ।

समान कामको समान ज्याला’ माग गर्दै आन्दोलन चर्काएका हुन् ।

देशभरका धर्नामा आंगिक क्याम्पसका अध्यापक सहभागी छन् ।

त्रिविमा करिब दुई हजार आंशिक प्राध्यापक छन् ।

उनीहरूले चैतयता पारिश्रमिक पाएका छैनन् ।

‘अधिकांश क्याम्पसमा पठनपाठन छैन,’ त्रिचन्द्र क्याम्पसका आंशिक प्राध्यापक शशिकुमार शर्माले भने, ‘अनलाइन कक्षामा सहभागीलाई पनि पारिश्रमिक दिइएको छैन ।’

त्रिविमा कक्षाअनुसार पारिश्रमिक दिने गरी राखिएका १४ वर्षदेखिका आंशिक प्राध्यापक छन् ।

प्रतिपिरियड ३ सयका दरले अध्यापन गराउने उनीहरूले मासिक पारिश्रमिक दिने गरी करारमा नियुक्तिको माग अघि सारेका हुन् ।

त्रिविले प्राध्यापकहरूबीच नै विभेद र आंशिक प्राध्यापकलाई शोषण गर्दै आएको उनीहरूको गुनासो छ ।

‘स्थायी र करारमा पढाउने प्राध्यापकले मासिक ४०/४२ हजार रुपैयाँ बुझ्छन्,’ उनले भने, ‘हामी पनि उनीहरूले समान पढाउँछौं तर लकडाउनयता एक सुका पनि पाएका छैनौं, विश्वविद्यालयको शोषण सहन हुँदैन भनेर कोरोना महामारीकै बीच आन्दोलनमा उत्रन बाध्य भयौं ।’

कक्षाअनुसार ज्यालादारीमा कार्यरत प्राध्यापकलाई करार नियुक्ति दिनुपर्ने र त्रिवि सेवा आयोगको विज्ञापन समयमै खुलाउनुपर्ने आंशिक प्राध्यापक संघको माग छ ।

‘हामीलाई सिधै स्थायी नियुक्ति देऊ भनेका छैनौं,’ संघर्ष समितिका संयोजकसमेत रहेका शर्माले भने, ‘समान कामको समान ज्यालासहित ६/६ महिनामा सेवा आयोगको परीक्षा गराउन माग गरेका हौं ।’

आयोगको प्रतिस्पर्धामा सफल हुन नसके शिक्षण पेसा नै छाड्ने उनले बताए ।

संघले प्रधानमन्त्री, अर्थमन्त्री, शिक्षामन्त्री, सभामुखलगायत प्रतिनिधिसभाका सांसदहरूलाई समेत मागपत्र बुझाइसकेको छ ।

ताजा अपडेट