राष्ट्रपतिको भूमिकामाथि कांग्रेसकाे प्रश्न

श्राेतः इन्टरनेट

काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकामाथि प्रश्न उठाएको छ ।

एक पटक फिर्ता भएको संवैधानिक परिषद ऐन संशोधन अध्यादेश आउनासाथ जारी गर्नु संविधानको भावना र मर्म विपरीत भएको कांग्रेसको ठहर छ ।

शुक्रबार बसेको कांग्रेस संसदीय दल कार्यसमितिको बैठकपछि प्रमुख सचेतक बालकृष्ण खाँडले भने, ‘फिर्ता लिइसकेको अध्यादेश फेरि लाँदा राष्ट्रपतिले त्यति चाँडो रेस्पोन्स गरेर स्वीकृत गर्नु उहाँको कमजोरी हो, संविधान विपरीत हो ।

८ वैशाखमा संवैधानिक परिषद ऐन संशोधन अध्यादेश ल्याइको थियो, तर पार्टीभित्र र बाहिर चर्को विरोध भएपछि तीन दिनमै सरकारले फिर्ता लिएको थियो ।

दोस्रो त्यही अध्यादेश आउँदा के हुन्छ भनेर ख्याल गर्नुपर्ने भन्दै खाँडले भने, ‘संविधानको पालना गर्ने, संविधानको रक्षा गर्ने प्रमुख दायित्व राष्ट्रपतिको हो ।

सरकारले गरेका निर्णयहरु संविधानको प्रतिकूल छन् भने सच्याउन राष्ट्रपतिले सुझाव दिने सल्लाह दिने परम्परा छ र यो चलन संसारभरी छ ।’

नेताहरुका अनुसार बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रपतिकै कारण सरकार निरंकुश र सर्वसत्तावादतिर उन्मुख भइरहेको आफुले अनुभूत गरेको बताएका छन् ।

‘संवैधानिक निकायमा नियुक्ति गर्दा निश्पक्ष होस् भनेर संवैधानिक परिषद्मा तीनै अंगका प्रमुख र विपक्षीको सहभागिता सुनिश्चित गरिएको हो’ बैठकमा देउवाले भने, ‘सरकार अध्यादेशमार्फत त्यो रोक्दैछ ।

यो अध्यादेशले संविधान संशोधन गर्छ ।

राष्ट्रपति यो पनि ख्याल गर्नु भएन ।’