झापामा एक महिलाको शव फेला

श्राेतः इन्टरनेट

काठमाडाै । झापामा एक महिलाको शव फेला परेकाे छ ।

बिर्तामोड नगरपालिका–२ चैतुबारीको खेतमा एक महिलाका शव फेला परेको छ ।

४२ वर्षीया दिनो राजवंशीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका एसपी कृष्ण कोइरालाले जानकारी दिए ।

ती महिलाको शव आइतबार बिहान फेला परेको हो ।

मृतक महिलाको नाक र मुखबाट रगत बगेको र उत्तानो अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

घटना शंकास्पद रहेको एसपी कोइरालाले बताए ।

‘महिलाको मृत्यु शंकास्पद छ,’ एसपी कोइरालाले भने, ‘घाँटीमा सल बेरिएको छ ।

धारिलो हतियार केही प्रयोग गरिएको छैन, घटनाको विषयमा थप अनुसन्धान हुँदैछ ।’

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय बिर्तामोडको प्रहरी टोली थप अनुसन्धानका लागि खटिएको छ ।

धरानस्थित सङ्घीय प्रहरी इकाई कार्यालयबाट ट्रयाकर डग ‘लैला’सहितको प्रहरी टोली घटनास्थल आउन लागेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए ।

प्रहरीका अनुसार वीरबहादुर राजवंशी दम्पतीले सोही ठाउँका जगत राजवंशीको खेत लिजमा तीन वर्षदेखि कुखुरा फार्म सञ्चालन गर्दै आएका थिए ।

फार्ममा शनिबार बेलुका ७ बजे श्रीमानलाई खान पुर्‍याउन भनी घरबाट हिँडेकी दिनो राति अबेरसम्म नफर्किएपछि परिवारका सदस्यले उनको खोजी सुरु गरेका थिए ।

खोजी गर्ने क्रममा उनको शव घरदेखि ३०० मिटर पश्चिम मोहन मगरको खेतमा भेटिएको प्रहरीले जनाएको छ ।