संसद् विघटनपछि प्रहरी सुरक्षा सर्तकता बढाउन आइजिपीको निर्देशन

श्राेतः इन्टरनेट

काठमाडाैँ । संसद विघटन गर्न मन्त्रिपरिषद्ले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिश गरेपछि देशमा हुने सुरक्षालाई मध्यनजर गरेर आवश्यक सुरक्षा सतर्कता अपनाएको प्रहरीले बताएको छ ।

संसद विघटनको सिफारिसपछि सुरक्षा निकायहरू ‘हाई अलर्ट’मा राखिएका छन् । 

फिल्डमा प्रमुख रूपमा खटिने नेपाल प्रहरीलाई देशव्यापी रूपमा सुरक्षा सतर्कता बढाउन निर्देशन दिइएको छ । 

प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीले आकस्मिक रूपमा सुरक्षा सतर्कता बढाउन सात वटै प्रदेशका प्रमुखहरूलाई निर्देशन दिएका छन् । 

‘ठूला राजनीतिक घटना हुँदा स्वभाविक रूपमै सुरक्षा सतर्कता बढाउन निर्देशन दिइएको हुन्छ, यस्तै निर्देशन गएको छ,’ प्रहरी प्रवक्ता एसएसपी वसन्त कुँवरले भने । 

मुख्यालयले यस्तो बेला सडकमा आन्दोलन हुने, स्थिति भड्किने र त्यसले कानुनविपरीतका क्रियाकलाप निम्त्याउन सक्ने भएकाले नियन्त्रण गर्न निर्देशन दिएको बताइएको छ ।

आइतबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठक संसद विघटनको सिफारिस गरेको छ ।