संसद् विघटन राष्ट्रघाती कदम हाेः विवेकशील साझा पार्टी

श्राेटः इन्टरनेट

काठमाडाै । प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटनको सिफारिसलाई विवेकशील साझा पार्टीले राष्ट्रघाती कदमको संज्ञा दिएको छ ।

आइतबार बिहान विज्ञप्ति जारी गर्दै विवेकशील साझाले प्रधानमन्त्री ओलीले चालेको संसद् विघटनको प्रक्रियाको विरोध गरेको छ ।

विवेकशील साझाले प्रधानमन्त्री ओलीले नेपालको संविधान २०७२ मा नभएको अधिकार प्रयोग गरेर देशलाई अस्थिरता र सम्भावित दुर्घटनातर्फ धकेलेको आरोप लगाएको छ ।

विवेकशील साझाले ओलीको यो कदम आफ्नो निहित स्वार्थपूर्तिका लागि चालेको कदम भएको जिकिर गरेको छ ।

‘ केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक डाकेर अनायास संसद् विघटनको सिफारिस गर्नु घोर असंवैधानिक, अलोकतान्त्रिक र तानाशाहीको कदम हो,’ विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘यो संविधानमाथिको स्पष्ट ’कू’ हो ।’

साथै, विवेकशील साझाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रधानमन्त्री ओलीको किचेन क्याबिनेटमा रुपान्तरित भएको आरोप लगाएको छ ।

‘प्रधानमन्त्री ओलीको किचेन क्याबिनेटको विश्वासिलो सहयोगीमा रूपान्तरित भएर राष्ट्रपतिको गरिमालाई भण्डारीले बारम्बार गिराएकी छन् ।

यसपटक पदको गरिमा जोगाउन मन्त्रिपरिषद्को सिफारिस सदर नगर्न विवेकशील साझा पार्टी राष्ट्रपतिसँग जोडदार माग गर्दछ ।’

पार्टी अध्यक्ष रवीन्द्र मिश्रले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

प्रम ओलीले सिफारिस गरेको संसद विघटनबारे संघीय संसदमा प्रतिनिधित्व भएका राजनीतिक दलहरूसँग तत्काल छलफल सुरु गर्न विवेकशील साझाले राष्ट्रपति भण्डारीसँग आग्रह गरेको छ ।