देशैभर संसद् विघटनको विरोधमा प्रदर्शन

श्राेतः इन्टरनेट

काठमाडाै । राष्ट्रपतिबाट प्रधानमन्त्रीको सिफारिसमा भएको प्रतिनिधिसभा विघटनको विरोधमा देशका विभिन्न स्थानमा प्रदर्शन भएका छन् ।

देशैभर विपक्षी राजनीतिक दल र तिनका भ्रातृ संस्थाहरूबाट मात्र नभई सत्तासीन दल नेकपाकै नेता–कार्यकर्ताबाट सबैभन्दा बढी प्रदर्शन भएको छ ।

प्रदर्शनमा उत्रिएका नेता–कार्यकर्ताले सरकार र राष्ट्रपतिले गैरसंवैधानिक कदम चालेको भन्दै आलोचना गरेका छन् ।

संसद् विघटनको विरोधमा आइतबार नुवाकोटमा पनि सत्तारुढ नेकपाका कार्यकर्ताले र्‍याली निकाले ।

नेकपा नुवाकोटको आयोजनामा भएको र्‍यालीमा सहभागीहरूले प्रधानमन्त्री ओलीले संसद् विघटनको असंवैधानिक कदम चालेको भन्दै भत्र्सना गरे ।

प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसनिकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले प्रदर्शन गरेको छ ।

नेविसंघका महामन्त्री प्रभातकुमार दाहालको नेतृत्वमा हेटौँडा बजारमा प्रदर्शन भएको हो । 

संसद् विघटनको विरोधमा जनकपुरधाममा जनता समाजवादी पार्टी र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले छुट्टाछुट्टै विरोध प्रदर्शन गरेको छ । 

प्रदेश २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले प्रधानमन्त्री ओलीले संसद् विघटन गरेर गणतन्त्र र संघीयताविरोधी कदम चालेको बताएका छन् ।

जनता समाजवादी पार्टी पर्साले संसद् विघटनको विरोधमा वीरगन्जमा प्रदर्शन गरेको छ ।

नेकपा र प्रतिपक्षी दल जनता समाजवादी पार्टीका नेता–कार्यकर्ताले बारामा टायर बालेर प्रदर्शन गरेका छन् ।

संसद् विघटनको विरोधमा उनीहरूले बाराको कलैयामा विरोध प्रदर्शन गरेका हुन् । 

संसद् विघटनको विरोधमा प्रदेश १ को राजधानी विराटनगरमा चर्को विरोध भएको छ ।

सत्ताधारी दल नेकपाको भ्रातृ संगठन अनेरास्ववियु, कांग्रेसको तरुण दल र विवेकशील साझा पार्टीले प्रदर्शन गरेका छन् ।

संसद् विघटन असंवैधानिक भएको भन्दै नेविसंघ लमजुङ र युथ कांग्रेस नेपाल लमजुङले आइतबार साँझ लमजुङमा विरोध प्रदर्शन गरेका छन् ।

संसद् विघटन गरेको भन्दै रसुवामा प्रधानमन्त्रीको केपी शर्मा ओलीको पुत्ला जलाइएको छ । युवा संघ र अनेरास्ववियुका कार्यकर्ताले संयुक्त रूपमा पुत्ला जलाएका हुन् ।

संसद् विघटनको विरोधमा सिराहामा विरोध प्रदर्शन भएको छ ।

प्रधानमन्त्री र राष्ट्रपतिको कदमविरुद्ध जनताले विरोध जनाएका हुन् ।

जनताको लामो संघर्षबाट प्राप्त उपलब्धि गुम्ने गरी भएको संसद् विघटनको कदमले मुलुकलाई दीर्घकालसम्म असर पुर्‍याउने भन्दै जनस्तरबाट विरोध भएको हो । 

आइतबारै प्रदेश २ का सांसद रहेका नेकपा जिल्ला सचिव प्रमोदकुमार यादवको नेतृत्वमा नेकपाका नेता–कार्यकर्ताले विरोध प्रदर्शन गरेका छन् ।

ताजा अपडेट