नेकपा विभाजन , पार्टीको चल–अचल सम्पति कसको नाममा ?

श्राेतः इन्टरनेट

काठमाडाै । औपचारिक रुपमा सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनको संघारमा पुगेको छ ।

नेकपा फूटको घोषणा नभए पनि पार्टीका अध्यक्ष तीन जना तोकिएका छन् ।

पार्टी फुटेसँगै चुनाव चिन्ह, पार्टी कार्यालय र पार्टीका चल–अचल सम्पतिबारे पनि बहस सुरु भइसकेको छ ।

ओली समूहले सूर्य चुनाव चिन्हमा आफ्नो दाबी गर्दै आइरहेको छ भने प्रचण्ड–नेपाल समूहले पनि सूर्य चिन्ह नछोड्ने अडान लिएको छ ।

हाल नेकपाको छाप गोलाकारमा पार्टीको नाम लेखिएको र सूर्यभित्र केन्द्र भागमा हँसिया हथौडा खप्टिएको चिन्ह हुने व्यवस्था छ ।

त्यस्तै पार्टी कार्यालयबारे पनि विवाद सिर्जना हुने देखिएको छ ।

नेकपाका दुई पक्षका कार्यकर्ताहरुले जिल्ला–जिल्लामा पार्टी कार्यालयबारे आ–आफ्नो दाबी गर्दै आइरहेका छन् । त्यस्तै केन्द्रमा पनि सोही स्थिति देखिएको छ ।

दुवै पक्षले पार्टी कार्यालयबारे आ–आफ्नो दाबी गर्दै आइरहेका छन् ।

तर, पार्टी कार्यालय सचिव ईश्वरी रिजालले आफूहरु पार्टी एकताको प्रक्रियामा रहेकाले पार्टीका चल अचल सम्पती पनि आ–आफ्नै नाममा रहेको जानकारी दिए ।

सचिव रिजालले पार्टी एकताको ‘ड्यु प्रोसेस’भित्र रहेकाले सम्पतिमा एमालेकाे सम्पतिमा माओवादीको र माओवादीको सम्पतिमा एमालेकाे  हक नलाग्ने बताए ।

‘एकताको केही काम सकिएको धेरै काम बाँकी रहेको संगठनात्मक क्षेत्रमा मात्रै उक्त काम भएको वैचारिक पनि भएको छैन् । किनकी महाधिवेशनले फैसला गर्ने भनिएको छ ।’

हाल नेकपा केन्द्रीय कार्यालयमा दुई जना सचिव छन् ।

पूर्वएमालेका ईश्वरी रिजाल र माओवादीका श्रीराम ढकाल कार्यालय सचिव छन् ।

रिजाल अध्यक्ष ओलीनिकट मानिन्छन् भने ढकाल अर्का अध्यक्ष दाहाल प्रचण्ड निकट हुन् ।

केही दिन अगाडि ललितपुर १ नं. निर्वाचन क्षेत्रमा आयोजित भेलालाई संवोधन गर्दै पूर्वमन्त्रीसमेत रहेका नेता बस्नेतले भनेका थिए, ‘हामी पेरिसडाँडामा आँखा लगाउदैनौं, तपाईहरु बल्खु र धुम्बाराहीमा आँखा नलगाउनुस ।’

बस्नेतले सूर्य चिन्हमाथि प्रचण्डको दावी हास्यास्पद रहेको पनि बताइसकेका छन् ।

‘प्रचण्ड कमरेडलाई आफू लोकप्रिय छु भन्ने लाग्छ भने आफ्नै गोलाकारभित्रको हसिया हथौडा चिन्हमा चुनाव लडेर जित्न म चुनौति दिन्छु, तपाई सूर्यमा आँखा नलाउनुस,’ बस्नेतले भनेका थिए, ‘पार्टी छोडेर जानेहरुले पार्टीको सम्पतीमा आँखा लगाउन मिल्दैन ।

हामीलाई प्रचण्डको पार्टी कार्यालय चाहिएको छैन, उहाँहरुनै लिनुहोस तर तत्कालिन एमालेका हरेक सम्पत्तिमा हाम्रो मात्र हक छ र हामी छाड्दैनौं ।

पार्टी विभाजन गरेर जानेहरुले पार्टीको सम्पत्तिमा दावी गर्न मिल्दैन ।’

त्यस्तै नेकपा अ‍ोली समूहको दाबी नलाग्ने प्रचण्ड–नेपाल समूहका नेता विष्णु रिजालले बताए । उनले निर्वाचन आयोगले दल सम्बन्धी निर्णय बहुमतका आधारमा गर्ने जानकारी दिए ।

दल सम्बन्धी ऐनमा दुई वटा कुरा उल्लेख गरेको छ ।

पहिलोमा नयाँ दल बनाउन वा पार्टी फुटाउन चाहेको खण्डमा ४० प्रतिशत केन्द्रीय सदस्य ल्याउनुपर्ने व्यवस्था छ भने दोस्रोमा आधिकारिक हुन चाहेमा केन्द्रीय कमिटीको बहुमत ल्याउनुपर्ने व्यवस्था रहेको छ ।

साथै निर्वाचन आयोगले यसअघि गरेका निर्णयहरु पनि बहुमतका आधारमा नै पार्टीका केन्द्रीय कमिटीलाई मान्यता दिएका उदाहरण हामीसँग छन् ।

जस्तोः २०५९ साल जेठ ८ गते संसद विघटन गरेर तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले ‘रुख’ चिन्ह दाबी गर्दै छुट्टै नेपाली कांग्रेस गठन गरेका थिए ।

त्यो बेला गिरिजा प्रसाद कोइराला नेतृत्वको कांग्रेस संसद विघटनको विरुद्धमा थियो ।

देउवालाई राजाको समर्थन भएको खण्डमासमेत निर्वाचन आयोगले कोइरालाको पक्षमा विधानतः निर्णय गरेको थियो ।

‘अहिले बहुमत छ । आधिकारिक निर्णय छ ।

त्यो भन्दा तलमाथि हुन्छ भन्ने कसरी अनुमान गर्न सकिन्छ र ?’, उनले भने । 

त्यस्तै बल्खु र पेरिसडाँडाको पार्टी कार्यालय नेकपाले आधिकारिकता पाउनेमा आफू विश्वस्त रहेको उनको दाबी छ ।

‘नेकपाको बहुमतको निर्णय लागू हुन्छ । निर्वाचन आयोगले फैसला गर्छ । तीन कार्यालय वैधानिक ढंगले नै नेकपाका हुन्छन्’, नेता रिजालले भने ।