छाउगोठमा जन्मिएका पुस्ता

राधिका ढकाल

मध्य तथा सुदूरपश्चिमका पहाडी बस्ती छाउपडीजस्तो सामाजिक अन्धविश्वासले अझै पनि बदनाम छन् । महिनावारी भएका महिला र सुत्केरीलाई घरभित्र बस्न दिइँदैनथ्यो । हरेकले घरछेउ सानो छाउगोठ बनाउँथे । सुत्केरी हुँदा होस् वा महिनावारी हुँदा, त्यही गोठमा महिलाले कष्टसँग बस्नुपर्थ्याे ।

जब मेरी आमालाइ सुत्केरी व्यथाले च्याप्यो, हतारहतार छाउपडी गोठ (महिनावारी हुँदा र सुत्केरी हुँदा बस्नका लागि बनाइएको सानो र होचो गोठ) मा लगियो । हाम्रो घरको पछाडिपट्टि त्यस्तो गोठ थियो । लामो प्रसव व्यथापछि आमाले बहिनिलाई जन्मदिनु भयो ।त्यतिखेर आमाको मुटु एउटै कुराले कामेको थियो , मेरो सन्तानले त्यो कालरात्रि देख्नु र भोग्नु नपरोस् ।

अझै पनि हामी छाउगोठमा हरेक वर्षजसो किशोरीको ज्यान गएका समाचार सुन्न बाध्य छौँ । कहिले गोठमा निसास्सिएर त कहिले बलात्कृत भएर, कहिले सर्पले डसेर मृत्यु हुनेको खबर सुन्दा मलाई साह्रै दुःख लाग्छ । सामाजिक कुरीतिको भुङ्ग्रोमा मेरी आमा जस्तै कयौं आमा, दिदिबहिनी ,भाउजु पिल्सिएका थिए । मेरो पुस्ताले भोग्नुपरेको उत्पीडन कल्पना गर्दा पनि आङ सिरिङ्ग भएर आउँछ ।

मैले शहरका सुविधासम्पन्न अस्पतालमा पनि गर्भवती र सुत्केरीले भोगेका पीडा र व्यथा देखेको छु, सुनेको छु । आफ्नै सन्तान जन्मिदा प्रत्यक्ष भोगे । नियमित गर्भ जाँच गराएर विशेषज्ञबाट प्रसूति गराउँदा त जोखिम हुने रैछ । त्यस बेला गाउँको हाल के हुँदो हो ? म त्यो वियोगान्त कल्पना पनि गर्न सक्दिनँ ।

गाउँमा सुँडेनी हुन्थे । उनीहरूले अनुभवका आधारमा सुत्केरी गराउँथे । न कुनै अध्ययन, न तालिम । परम्परागत ढङ्गले सुत्केरी गराउँदा थुप्रै गलत अभ्यास पनि हुन्थे । गर्भवतीको स्वास्थ्यमा थोरै मात्र जटिलता आयो कि अकालमा ज्यान गुमाउनुपर्थ्याे ।

न्वारन नगरेसम्म सुत्केरी र शिशुलाई अरुले छुदैन्थे । सुत्केरी स्वयम्‌‌ले स्याहार्नुपर्थ्याे । सुत्केरी राम्ररी नतङ्ग्रिँदै घाँसपात, स्याउला र दाउरामा लाग्नुपर्थ्याे । सुत्केरीले पोषिलो खानेकुरा र स्याहार पाउनुपर्ने बेलामा अभाव र गरिबीले आधा पेट खाएर सुत्नुपर्ने अवस्था थियो । अलिकति गरिबी, अलि धेरै अन्धविश्वासले सुत्केरी हुनु ठूलो कष्ट व्यहोर्न तयार हुनुझैँ थियो ।

भर्खरै जन्मेको बच्चालाई गोठमा सुताएर वा डोकोले छोपेर सुत्केरी घरबाहिरको काममा लाग्नुपर्थ्याे । जन्मेको केही दिनपछि मेरी आमाले पनि बहिनिलाइ डोकोले छोपेर घाँसपात गर्न जानू भएछ । सुत्केरी भएको नौँ दिन को दिनमा नजिकैको जंगलतिर घाँसदाउरा खोज्न बहिनिलाई डोकोले छोपेर जानू भएको मेरी आमा, साँझ फर्केर दूध खुवाउन छोपेको डोको हटाउँदा त बहिनीसँगै सर्प रहेछ । आमा आत्तिएर चिच्याउन लाग्नु भयो तर त्यो छाउ गोठ थियो आमाको चिच्याइ सुनेर को नै आउथे र ? आए पनि सबै तमासा हेर्ने को भिड हुन्थ्यो । आमाको चिच्याइको रोदनले सर्प केही नगरी भाग्यो । एउटा ठूलो भाग्यले नाबालक छोरीको ज्यान जोगियो ।

यो कुरा हाम्रो घरपरिवार र सिङ्गो गाउँले थाहा पायो । सबैले अनौठो मानेर घटना सुने । तर, सुत्केरीलाई गोठमा राख्दा यस्तो जोखिम मोल्नुपर्‍यो भन्ने कोही निस्केन्न । बरु बुढापाकाहरूले त ‘ती नाग देवता हुन् । त्यसैले बच्चालाई केही गरेनन् । नागले रक्षा गरेकाले तिम्रो छोरीको आयु लामो हुन्छ, ठूलो मान्छे हुन्छे ।’ यस्तै, यस्तै गाँइगुइँ गर्न थाले ।

यो घटनाको यथार्थ दृश्य बारम्बार मेरो आँखामा आइरहन्छ । संयोग भनौँ वा भाग्य, नाबालक मेरो बहिनीलाइ सर्पले डसेन । तर, आज पनि म सर्प देख्दा तर्सिन्छु । सबैभन्दा धेरै केहीबाट डर लाग्छ भने त्यो सर्प नै हो ।

छाउगोठमा सर्पले टोकेर सुत्केरी वा शिशुको मृत्यु भएका समाचार पढ्दा त्यो मेरै आमाले भोग्नु भएको पिडा हों, झैँ लाग्छ । त्यहि कालबाट मेरो छोरोबाच्यो । कथंकथाचित मैले केही ढिलो गरेको भए के हुन्थ्यो ? डोको झिक्दा सर्पले डसेर भागेको भए के हुन्थ्यो ? यस्ता कुरा मेरो मनमा खेलिरहन्छन् अझेैपनि ।

हामी र हामीअघिको पुस्ता छाउपडी गोठमै जन्मियो । आमाको दूध खाउन्जेल छाउपडी हुँदासँगै गोठमै हुर्कियो । त्यसैले मैले हाम्रो पुस्तालाई छाउगोठमा हुर्केको पुस्ता भन्ने गरेको छु ।

हाम्रो गाउँमा छोराछोरीबीच असाध्यै भेदभाव थियो । छोरालाई अंश र वंशको एक्लो उत्तराधिकारी मानिन्थ्यो । छोरा जन्मिदा खुसी मनाइन्थ्यो, छोरी जन्मिदा खासै कुनै उत्साह हुँदैनथ्यो । छोरालाई पढाइन्थ्यो, छोरीलाई पराइको घरमा जाने, अरुको भित्ता टाल्ने जात भनेर पढ्नु पर्दैन भनिन्थ्यो । छोराले गल्ती गर्दा सहजै माफी पाउँथ्यो । छोरीलाई त्यो सुविधा थिएन ।

भान्सामा पाक्ने मीठोमसिनो खानेकुरामा पनि विभेद गरिन्थ्यो । बाबुआमाको पहिलो प्राथमिकतामा छोरा पर्थ्याे । घाँसपात, दाउरादेखि चुलाचौकाका सबै काम छोरीकै जिम्मामा हुन्थ्यो । छोरीलाई कुनै प्रकारको अंश तथा सम्पत्ति दिइँदैनथ्यो । विवाहपछि छोरी वा बहिनीको अवस्थाका बारेमा सोधखोज नै गरिँदैनथ्यो । सात ,आठ वर्ष पुरा हुन नपाउदै पराइ घर पठाउथे ।

महिलाहरूले महिनावारी (रजस्वला) हुँदा असाध्यै नराम्रो व्यवहार सहनुपर्थ्याे । उनीहरूलाई दोस्रो दर्जाको नागरिकसरह व्यवहार गरिन्थ्यो । घरमा बस्न पाउँदैनथे । महिनावारी भएका महिला घरमै बसे देउता रिसाउँछन्, अनिष्ट हुन्छ, सर्पले लखेट्छ भन्थे बुढापाकाहरू । त्यही देउताको डरले वर्षौंवर्ष महिलाहरू नारकीय जीवन जिउन बाध्य छन् । नेपालका अरु ठाउँमा पनि महिनावारी भएका महिलालाई छोइछिटो गरिन्छ । सधैँ सुत्ने कोठा र ओछ्यानमा सुत्न दिइँदैन । भान्सामा पस्न र खाना पकाउन पनि बन्देज छ । पूजाआजा त झन् गर्ने कुरै भएन । मध्य र सुदूरपश्चिमी पहाडमा उनीहरूलाई छुट्टै गोठ बनाएर बसाल्ने गरिएकाले धेरै चर्चा र बदनामी कमाएको छ ।

सबै घरमा छाउपडी गोठ पनि थिएनन् । हाम्रो गाउँमा दुई/तीन घरमा मात्र छाउगोठ थिए । तिनै घरमा महिलाहरू कोचिएर बस्नुपर्थ्याे । घरदेखि अलि पर छाउपडी गोठ हुन्थे । त्यस्ता छाउगोठमा कुनै झ्याल राखिएका हुँदैनथे । बत्ती पनि नबोल्दा ती अन्धकार कोठरी थिए । वर्षातमा पानी चुहिने र सर्प तथा कीरा सहजै भित्र पस्न सक्थे । खानपिनको कुनै निश्चितता हुँदैनथ्याे । महिनावारी भएकी महिला (छाउपडी)लाई टाढैबाट रोटी र चटनी दिइन्थ्यो । छाउपडीले घरबाहिरका सबै काम गर्न मिल्थ्यो । घाँस दाउरा र खेतबारीका सबै काम गर्न मिले पनि दूध, दही, घिउजस्ता पोषिला खानेकुरा खान पाउँदैनथे ।

सुत्केरी भएका महिलालाई छाउपडी गोठमा राखिन्थ्यो । उनीहरूलाई पनि छाउपडीसरह नै व्यवहार गरिन्थ्यो । छाउपडी गोठमा सर्पले टोकेर, चिसो र राम्रो स्याहार नपाएर शिशुहरूको ज्यान जान्थ्यो ।

पछिल्ला केही वर्षमा छाउपडी प्रथाविरुद्ध जनता जागेका छन् । छाउपडी गोठ भत्काउने अभियान नै चलाइयो । छाउगोठ राख्नु र त्यहाँ बस्न बाध्य पार्नु गैरकानुनी हुन्छ । प्रहरी र प्रशासनको सक्रियतामा मध्य तथा सुदूरपहाडका हजारौँ छाउपडी गोठ भत्काइए । देशमा राजनीतिक, सामाजिक र विकृतिविरुद्ध वर्षौंदेखि आन्दोलन जारी छ । राजनीतिक आन्दोलन टुङ्गोमा पुगे पनि सामाजिक आन्दोलन रोकिएको छैन । सरकारले गाउँगाउँमा रहेका छाउगोठहरू त भत्कायो । तर, अन्धविश्वासी समाजमा जरो गाडेको यो सामाजिक समस्या उखेलिएको छैन ।

लोकतन्त्र आयो, गणतन्त्र आयो ,प्रजातन्त्र आयो, एक परिवारका एक सदस्य शिक्षित भए तर मानिसमा यि विषयका बारे फराकिलो सोचाइ बनाउन सकेनन् । औला उठाउने पनि धेरै आए, नियमकानुन पनि कडा बनाइयो, तर कार्यन्वयन मा आएन् । छाउपडी प्रथा स्वीकारेका मानिसका मनबाट छाउगोठ नभत्काएसम्म यो समस्याको स्थायी समाधान सम्भव देखिँदैन ।