मन्त्री लम्साल बोलीमा चुकेपछि विज्ञप्ति निकालेर बचावट

काठमाडौ । गण्डकी प्रदेश सभाको मंगलबारको बैठकमा बोल्ने क्रममा आफू संघको चुनाव लड्ने भन्दै मन्त्री खोज्न मुख्यमन्त्रीसँग आग्रह गरेका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले साँझपख बोली फेरेका छन् । उनले दिउँसो भनेका थिए, ‘‘माननीय मुख्यमन्त्री ज्यू, मलाई वैशाखमा चुनाव लड्ने मन छ । अब संघमा जाने हो, हिजो पनि उतै थिएँ, उनले भने, ‘कसलाई ल्याएर राखेर मन्त्रालय चलाउने हो, मन्त्री खोज्नुस् । म चुनावमा जाने हो । तपाईं मेरो पार्टीको इन्चार्ज पनि हो । मलाई संघको टिकट दिनुस् । यो संविधान बचाउनुपर्छ ।’प्रधानमन्त्री केपी शर्मा ओलीले संसद भंग गरे वैशाखमा मध्यावधि निर्वाचन घोषणा गरेका छन् । संविधान त प्रदेश र संघको चुनाव एकै पटक हुन्छ । तर दलभित्रकै खिचातानीका कारण प्रधानमन्त्रीले प्रतिनिधि सभा भंग गरेपछि प्रदेशस्तरमा पनि त्यसको प्रभाव देखिएको हो । बीचैमा प्रतिनिधि सभाको मध्यावधि चुनाव हुँदा अहिले प्रदेशमा रहेका सांसदहरुको राजनीतिक ‘करिअर’ मा नै प्रभाव पार्ने भएको छ । प्रदेश छाडेर संघमा उक्लनकै लागि मन्त्री लम्सालले यो घोषणा गरे पनि चौतर्फी आलोचनापछि बोली फेर्न वाध्य भएका हुन् । उनी तत्कालीन एमालेको सूर्य चिह्न लिएर पर्वतबाट विजयी भएका हुन् । लम्साल संविधान सभा सदस्य हुन् । प्रतिनिधि सभाको १ क्षेत्र रहेको पर्वतबाट गएको निर्वाचनमा एमालेकै पदम गिरीले जितेका हुन् ।