अझै बृहत आन्दाेलन गर्ने प्रचण्ड-नेपाल समुहकाे तयारी

स्राेत: इन्टरनेट

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले आइतबार तेस्रो चरणको आन्दोलनको घोषणा गर्ने तयारी गरेको छ ।

प्रतिनिधिसभा विघटनविरुद्ध सडक संघर्षमा रहेको प्रचण्ड- नेपाल समूहले दिउँसो पत्रकार सम्मलेनमार्फत आन्दोलनको घोषणा गर्न लागेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार दिउँसो २ बजे पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा पत्रकार सम्मलेनको आयोजना गरिएको छ ।

यसअघि यो समूहले माघ २८ गते राजधानीमा वृहत विरोध प्रदर्शन गरेको थियो ।

प्रधानमन्त्री केपी ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दुई समूहमा विभाजित भएको छ ।

एउटा समूहको नेतृत्व प्रधानमन्त्री केपी ओलीले गरेका छन् भने अर्को समूहको नेतृत्व पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले गरेका छन् ।

दुवै पक्षले आधिकारिक नेकपा आफूहरु नै भएको दाबी गर्दै आएपनि निर्वाचन आयोगले भने आधिकारिकताको विवाद टुंगो लगाउन सकेको छैन ।

पछिल्ला दिनमा दुवै समूहमा शक्ति प्रदर्शनमा होडबाजी चलेको छ। प्रतिनिधिसभा विघटन मुद्दाको सर्वोच्च अदालतको संवैधानिक इजलाशमा सुनुवाइ भइरहेको छ।

आइतबारदेखि रिट निवेदकका तर्फबाट जवाफी बहस सुरु भएको छ।