नदीमा पानी कम भएको छ, बिजुली काटिने छ अचम्म मान्नु पर्दैन: शाक्य

नुवाकोटमा निर्माण भइरहेको २५ मेगावाट क्षमताको मुलककै ठूलो सौर्य प्लान्टबाट १० मेगावाट विद्युत् उत्पादन थालिएको छ । परीक्षणका रूपमा गत जेठमा १.२५ मेगावाट विद्युत् उत्पादन भएकामा अहिले थप ८.७५ मेगावाट विद्युत् उत्पादन थालिएको आयोजना प्रमुख विकास रघुवंशीले जानकारी दिए । आयोजनाको पछिल्लो प्रगति बुझ्न सोमबार स्थलगत अवलोकनमा गएका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई हाल आयोजनाबाट १० मेगावाट विद्युत् उत्पादन गरेर केन्द्रीय प्रसारण प्रणालीमा जडान शुरु गरेको र उक्त परीक्षण सफल भइरहेको जानकारी आयोजना प्रमुख रघुवंशीले गराए । त्यसअन्तर्गत रातमाटे, केराघारी र हेलिप्याड क्षेत्रको काम अन्तिम चरणमा पुर्याइएको एक महिनाभित्रै पाँच मेगावाट विद्युत् थप हुने देखिएको छ । उक्त अवसरमा थप विद्युत् चाँडो गरेर राष्ट्रिय प्रसारण प्रणालीमा जडान गर्न प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले निर्देशन दिए । “यो वर्ष हिउँदमा वर्षा नहुँदा नदी तथा खोलामा पानीको बहाव निकै कम भएको छ । यसले विद्युत् सङ्कट बढाउन सक्ने देखिन्छ”, उनले भने, “अभाव पूरा गर्नका लागि वैकल्पिक योजनाका रूपमा रहेको सौर्य प्लान्ट जतिसक्दो चाँडो सञ्चालन गर्नतर्फ लाग्नुपर्छ ।” आयोजनामा रहेकासातवटा ब्लकमध्ये स्टाफ क्वार्टर (विद्युत् प्राधिकरणमार्फत सञ्चालित बोर्डिङ स्कूल रहेको स्थान) र फोर–वे (नेपाली सेनाको ब्यारेक पछाडिको चौर) मा जडान गरिएको सौर्य प्यानलमार्फत १० मेगावाट विद्युत् उत्पादन थालिएको छ ।