मुग्लिन–नारायणगढ सडक एक हप्ता बन्द हुने

आइतबार देखि मुग्लिन–नारायणगढ सडक एक हप्ता बन्द हुने भएको छ । सडक मर्मतको लागि भन्दै उक्त सडकखण्ड दैनिक साढे चार घण्टा बन्द गर्न लागेको हो । 

एक हप्ता सम्म बिहान १०ः३० बजेदेखि दिउँसो ३ः०० बजेसम्म उक्त स्थानमा दुइतर्फी सवारी आवागमन अवरुद्ध हुने नारायणगढ मुग्लिन सडक आयोजनाले जनाएको छ ।  सडकखण्ड अन्तरगतको चितवनको इच्छाकामना गाउँपालिका ६ स्थित चारकिलो डाडाको पहिरो रोकथामको आवश्यक बाँकी कामहरु सम्पन्न गर्नका लागि फागुन २३ गतेदेखि एक हप्ता बन्द गरि आयोजनाले काम गर्न लागेको छ ।

सो अवधि भर नारायणगढ तर्फबाट गएका सवारी साधनहरुलाई जलबिरे र मुग्लिन तर्फबाट आउने सवारी साधनलाई मुग्लिन नजिक शान्तिबजारमा रोकिने जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । साथै उक्त अवधिमा संभव भएसम्म वैकल्पिक सडकमार्गको प्रयोग गर्नुहुन समेत सम्पूर्ण सडक प्रयोगकर्ताहरुमा अनुरोध गरिएको छ ।