सर्वोच्चको निर्णयबाट नेकपा फिर्ता लैजाने ऋषि कट्टेल को हुन् त….

काठमाडौं । ओली र प्रचण्डले २०७५ जेठमा पार्टी एकता गर्दा नाम नेकपा राखेपछि कट्टेलले सर्वोच्चमा मुद्दा दिएका थिए । २०७५ जेठ ३ मा तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण गरी नेकपा घोषणा गरिएको थियो । तर आफूले पहिलेनै दर्ता गरिसकेको नाम लिन नपाउने भन्दै कट्टेलले विरोध गरेपछि नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का नाममा ओली-प्रचण्डले २०७५ जेठ २३ गते निर्वाचन आयोगमा पार्टी दर्ता गरेका थिए ।

आयोगको उक्त निर्णयविरूद्ध कट्टेल सर्वोच्च अदालत गएका थिए। उनी सर्वोच्च गएको दुई वर्षमा सर्वोच्चले फैसला गर्दै नेकपा नाम कट्टेलको भएको बताएको छ ।

कट्टेल पूराना कम्युनिष्ट नेता हुन् । उनी २०४७ सालमै एमाले गोरखा जिल्ला प्रमुख थिएv। तत्कालीन एमाले महासचिव मदन भण्डारी, जीवराज आश्रित, बाचश्पति देवकोटा र कट्टेल २०५० साल जेठ १ मा पोखराको कार्यक्रममा सँगै गएका थिए ।

उक्त कार्यक्रम सकेर महासचिव भण्डारी र आश्रितसँगै बाचश्पति र कट्टेल तनहुँको आँबुखैरेनीसम्म एउटै गाडीमा आएका थिए। बाचश्पति र कट्टेलको घर गोरखा हो । आँबुखैरेनीबाट गोरखा २४ किमीको दूरीमा छ ।

महासचिव भण्डारी र आश्रित भने पार्टीको कार्यक्रममा भाग लिन चितवनतर्फ जाँदै गर्दा २०५० साल जेठ ३ गते दासढुंगामा दुर्घटनामा परी निधन भएको थियो ।

यसबीचमा कट्टेल माले, एमालेमा सक्रिय रहेका थिए । २०५८ सालमा सिपी मैनाली महासचिव भएको मालेमा उनी नेता थिए । त्यसपछि उनले २०६९ मा नेकपा गठन गरेका थिए ।

सर्वोच्चको फैसलापछि कट्टेलसँग गरिएको कुराकानी:

सर्वोच्चले फैसला गरेपछि कस्तो लाग्यो?

एकसाता अगाडिदेखि नै म सर्वोच्च अदालतमा बहस सुन्न गएको थिएँ । बहसकै दिन प्रतिपक्षले बहस नै गर्न नसक्ने ठाउँमा पुगेपछि त्यही दिन यिनीहरू हारे भन्ने त मलाई लागेको थियो ।

एक साताअगाडि नै प्रमुख निर्वाचन आयुक्त, जसले दर्ता गरेका थिए उनैले हारेको स्वीकारेका थिए । ठिकै छ हाम्रो यथास्थितिमै छँदै थियो। यी सरकारी पार्टीवालाहरू (ओली-प्रचण्ड) ले ठक्कर खाए ।

तपाईंको मुद्दाले नै केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालहरूको भविष्य अन्यौल बनाइदियो होइन?

बनाइदियो । फैसलामा लेखेको पनि छ रे, मैले पढेको पनि छैन। गएको पनि छैन। पुराना पार्टी दुइटै एमाले र माओवादी केन्द्र यथावत् भए भनेको छ रे ।

नेकपाका दुइटा पक्षमध्ये कुनैले तपाईंसँग नेकपा नाम माग्न सक्छन्, त्यसो अवस्था आए तपाईं कोसँग जानुहुन्छ ?

म कसैसँग जान्दिनँ। उनीहरूसँग मिल्नु छैन ।

तपाईं आफ्नै हिसाबले अगाडि बढ्छु भन्न खोज्नुभएको ?

जे गरिरहेको थिएँ, त्यही गरिरहन्छु । सेतोपाटीबाट ।