‘हामीले त्यो तितो, पिरो मनमा राखेर पुरानो कुरा कोट्याएर जानु हुँदैन’,– माधव नेपाल

काठमाडौं । प्रचण्ड समूहबाट बिदा भएका नेता माधवकुमार नेपालले इतिहासलाई बिर्सीर मिलेर अघि बढ्न आग्रह गरेका छन । सोमबार प्रचण्ड समूहसँगको अन्तिम बैठक पछि नेपालले सबै सम्भावनाको बारेमा छलफल गरेर अघि बढ्न आग्रह गरे । ‘हामीले त्यो तितो, पिरो मनमा राखेर पुरानो इतिहासका कुरा कोट्याएर जानु हुँदैन’, नेपालले भने । उनले सबै सम्भावनाको बारेमा छलफल भएको र सबै सम्भावनाको बारेमा अध्ययन पनि गरिरहेको बताए । आफूहरु राष्ट्रिय हित, लोकतन्त्रको सुदृढिकरण र समाजवादको धेय र उद्देश्य अनुरुप समाजको रुपान्तरणलाई अघि बढाएर लैजाने पक्षमा रहेको नेपालले बताए । सर्वोच्च अदालतको फैसलाले एमाले एमाले तिर माओवादी माओवादी तिर भनेको भए पनि यस भित्र पनि विभिन्न पक्षको अध्ययन गरिरहेको उनले बताए । सबै पक्षको अध्ययन र निर्वाचन आयोगको पत्र हेरेपछि थप प्रष्ट हुने उनको भनाइ छ । सर्वोच्चको फैसला आए पनि त्यस भित्र समेत जटिलता रहेको नेपालले बताए । ‘पूर्व एमालेको नाममा अर्को दल दर्ता छ भन्ने सुन्नमा आएको छ, पूर्वमाओवादीको नाममा पनि अर्को दल दर्ता छ भन्ने कुरा सुन्नमा आएको छ, त्यस्तो अवस्थामा सजिलै गरी पछाडि फर्कन सक्ने स्थिति बन्छ कि बन्दैन, यी जम्मै पक्षहरुको बारेमा हामी अध्ययन गर्छौ, आपसमा परामर्श गर्छौ, कानुनी पक्षदेखि लिएर सबै पक्षको बारेमा छलफल गरेर एउटा निष्कर्षमा पुग्छौँ’, नेपालले भने ।