एमालेले डाक्यो केन्द्रीय कमिटी बैठक

काठमाडौँ । नेकपा एमालेले चैत १ गतेका लागि केन्द्रीय कमिटी बैठक बोलाएको छ । २०७५ जेठ ३ गते माओवादी केन्द्रसित एकीकृत भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेपछि एमाले विघटन भएको थियो। गत २३ गते सर्वोच्च अदालतले ब्युँताइदिएपछि नयाँ परिस्थितिबारे छलफल गर्न पार्टीको केन्द्रीय कमिटी बैठक डाकिएको सचिव एवं संगठन विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए ।

‘सम्मानित सर्वोच्च अदालतको फैसलापछि पार्टी २०७५ जेठ २ गतेको स्थितिमा पुग्यो, त्यतिखेर पार्टीको पोजिसन के थियो, छलफलको सुरुवात त्यहीँबाट गर्नुपर्छ,’ गुरुङले भने, ‘यो बीचमा धेरैको मन भाँचिएको छ, यो कुरालाई मनन गरेर सबै आत्मालोचित हुनुपर्छ र कमीकमजोरी कहाँ भएको छ, खुला–खुलस्त छलफल गरेर जानुपर्छ। त्यसैका लागि हामीले चैत १ गते केन्द्रीय कमिटी बैठक बोलाएका छौँ ।’

नेकपा एमालेमा नवौं महाधिवेशनमा निर्वाचित र पछि मनोनीत गरी एमालेका २ सय ५ जना केन्द्रीय सदस्य छन्। तीमध्ये माधवकुमार नेपाल पक्षमा ९० जना छन् भने १० पद रिक्त छन् । उपाध्यक्ष वामदेव गौतमसहित ३ जना तटस्थ बसेका छन्। प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्षमा १०२ जना केन्द्रीय कमिटी सदस्य छन् । २५ सदस्यीय स्थायी कमिटीमा १२ जना ओली र १२ जना नेपाल पक्षमा छन् । स्थायी कमिटी सदस्य सोमनाथ प्यासी प्रदेश प्रमुख भएपछि उनको ठाउँ रिक्त छ ।

सचिव गुरुङले पार्टीलाई नयाँ सिराबाट सुदृढ गर्ने र सबै कमिटीको अधिवेशन गरेर पार्टी महाधिवेशनसम्म पुग्ने गरी बैठकको तयारी गरिएको बताएका छन् । पार्टी एकीकरण हुँदा एमालेको नयाँ महाधिवेशनमा जान १५ महिना बाँकी रहेकाले एकीकरणको अवधिलाई शून्य समय मान्दा पार्टी फेरि त्यही चरणमा फर्किएको छ । सचिव गुरुङले चैत १ देखि सुरु हुने केन्द्रीय कमिटी बैठकले अध्यक्ष, महासचिवको सचिवालय निर्माणदेखि अरू पार्टीबाट आएकाको व्यवस्थापन गर्नेसम्मका कामको म्यान्डेट दिने र आवश्यकताका आधारमा पोलिटब्युरो, स्थायी कमिटी र पार्टी पदाधिकारीको बैठक बसेर टुंगो लगाउने कामको सुरुवात गर्ने बताए ।

एमाले ब्युँतिएपछि पार्टी नेताहरूका बीचमा औपचारिक संवाद भएको छैन। गत मंगलबार महासचिव, अध्यक्ष तथा उपमहासचिव र सचिवहरू सदस्य रहेको सचिवालय बैठक बोलाइए पनि पछि स्थगित गरिएको थियो। स्थगित भएको उक्त बैठक फेरि आह्वान भएन। एमालेमा महासचिव नेतृत्वको सचिवालयले विभिन्न विषयमा छलफल गर्ने र पार्टीका एजेन्डा तयार पार्ने काम गर्छ। बोलाइएको सचिवालय बैठकसमेत स्थगित भएपछि वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहका स्थायी कमिटी सदस्यहरूको बैठक बिहीबार बसेको थियो। यो समूहले बुधबार आफूनिकट केन्द्रीय सदस्यहरूको बैठक डाकेको थियो।