मुख्यमन्त्री राई हेलिकप्टर चढेर ससुराली पुगे

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई हेलिकप्टर चढेर ससुराली पुगेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको चियापान कार्यक्रममा सहभागि भएपछि उनी मंगलबार श्रीमतीका साथ हेलिकप्टर चार्टर गरेर मंगलबार ससुराली गएका हुन्।

केही समयअघि आफूभन्दा आधा उमेर कान्छी युवतीसँग विवाहबन्धनमा बाँधिएका नेकपा एमालेको नेतासमेत रहेका मुख्यमन्त्री राईले श्रीमती जाङ्ग्मु इन शेर्पाले हेलिकप्टर अगाडि मख्ख परेर उभिएको तस्वीर सार्वजनिक गरेकी छन्।

उनले फेसबुकमा तस्वीर शेयर गर्दै हेलिकप्टर चढेर माइती पुगेको जानकारी गराएकी छन् ।

उनल लेखेकी छन्, ‘भर्खरै आफ्नो जन्मस्थल संखुवासभा मकालु गाउँपालिकाको सेदुवा र नोर्बुको भ्रमण मेरो श्रीमान माननीय शेरधन राई र सबै सपरिवारका साथ गर्न पाउँदा असाध्यै खुशी लाग्यो । म त जन्मिएको मात्रै, मेरो गाउँ अति नै सुन्दर रहेछ ।। सबैले न्यानो स्वागत र सत्कार गर्नुभयो, धेरै खुशी लाग्यो।’

हेलिकप्टर लिएर पुगेकी उनले गाउँको विकास नभएकोमा दुखेसो गरेकी छन् । शेर्पाले अगाडि लेखेकी छन्, ‘मेरो गाउँ र ठाउँको लागि केही गर्नुपर्ने महसुस गरें, किनकि त्यहाँ सडक, बिधुत, शिक्षा,स्वास्थ्य र सञ्चारलगायतको पहुँचले जनतालाई जोड्न बाँकी रहेछ, अवश्य नै म र मेरो श्रीमान माननीय मुख्यमन्त्री शेरधन राईको ध्यानाकर्षण भएको छ । सबैप्रति हार्दिक आभार ब्यक्त गर्दछु ।’

आजै प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा चियापान कार्यक्रम राखेका थिए । चियापानमा प्रधानमन्त्री ओलीसहित उपप्रधानमन्त्री ईश्वर पोखरेल, मन्त्रीहरु, सांसदहरु, पार्टीका केन्द्रीय सदस्य तथा नेताहरु सहभागी भएका थिए । तर ओली निकट राई भने चियापानमा सहभागी नभएर हेलिकोप्टर लिएर ससुराली पुगेका छन्।