७ महिनामा स्वदेश भित्रियो पौनै ८ खर्ब रुपैयाँ रेमिट्यान्स

काठमाडौं । चालू आर्थिक वर्षको ७ महिनामा ५ खर्ब ६७ अर्ब ७० करोड रुपैयाँ विप्रेषण (रेमिट्यान्स) देश भित्रिएको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १०.९ प्रतिशतले वृद्धि भएको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.७ प्रतिशतले घटेको थियो । राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’सम्बन्धी प्रतिवेदनले विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १०.९ प्रतिशतले बढेको जनाएको हो ।

चालू आर्थिक वर्षको साउनदेखि माघ महिनाको अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६.७ प्रतिशतले बढेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

यो अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ४ अर्ब ८१ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ०.५ प्रतिशतले घटेको थियो ।

चालू आवको ७ महिनाको अवधिमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा भने भारी गिरावट आएको देखिएको छ ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ७५.९ प्रतिशतले घटेको राष्ट्र बैंकले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या २१.७ प्रतिशतले बढेको थियो ।

चालू आवको ७ महिनामा वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या ६७.४ प्रतिशतले घटेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या ०.६ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर ८.८ प्रतिशतले वृद्धि भई ६ खर्ब २९ अर्ब ८३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १.५ प्रतिशतले घटेको थियो ।