नारायणगढ–मुग्लिन सडकखण्डमा १५ ओटा नयाँ पुल निर्माण हुँदै

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा १५ ओटा नयाँ पुल निर्माण हुने भएका छन् । सडक फराकिलो पारिए पनि पुल साँघुरो नै रहेका कारण सवारी जाम नहटेपछि उक्त पुलका सट्टा १५ ओटा फराकिला नयाँ पुल निर्माण गर्न लागिएको हो ।

ती पुल २ प्याकेजमा छुट्याएर निर्माण गरिने भएको छ । पहिलो प्याकेजमा मुग्लिङ सिमलतालसम्म ७ ओटा र दोस्रो प्याकेजमा सिमलतालदेखि जुगेडीसम्म ८ ओटा गरी पुल निर्माण हुने भएका हुन् ।

पहिलो प्याकेजका पुलहरूको डिजाइन स्वीकृत हुन बाँकी रहेको र दोस्रो प्याकेजका ८ ओटै पुलको डिजाइन स्वीकृत हुने बाँकी रहेको नारायणगढ–मुग्लिन सडक आयोजनाले जनाएको छ ।

पुराना पुलको चौडाइ ६ देखि ७ मिटर मात्रै छन् भने, नयाँ बन्ने पुलको चौडाइ ९ देखि ११ मिटर हुने भएका छन् । । पहिलो प्याकेजका पुल निर्माणका लागि करिब ६८ करोड र दोस्रो प्याकेजका पुल निर्माणका लागि ५९ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

पुल निर्माणका लागि ठेकेदार कम्पनीसँग २०७६ चैत १० गते सम्झौता भएको थियो । पुल निर्माणको जिम्मा ‘अनक कन्स्ट्रक्सन, काठमाडौं’ ले पाएको छ ।