आइपिओ पहिलो दिन नै मागभन्दा बढी आवेदन

काठमाडौं । सिंगटी हाइड्रो इनर्जी कम्पनीको सेयर भर्न पहिलो दिन नै मागभन्दा बढी आवेदन परेको छ । कम्पनीले शुक्रबारदेखि निष्कासन गरेको सेयर भर्न एकै दिनमा मागभन्दा बढी आवेदन परेको हो ।

बिहान १० बजेदेखि सेयर बिक्री खुलाइएकोमा ३ घन्टामै निष्कासन भएको सबै कित्ताका लागि आवेदन परेको कम्पनीका सञ्चालक बटु लामिछानेले बताए ।

अपरान्ह ४ बजेसम्ममा कम्पनीको सेयर खरिद गर्न २ लाख २७ हजार जनाको आवेदन परेको पनि उनले बताए । आवेदनबाट पहिलो दिनमा ३७ करोड २६  लाख रुपैयाँ बराबरको सेयर आवेदन परेको छ ।

लगानीकर्ताको शुक्रबारको उत्साहले सेयर आवेदन दिने पाउने अवधिभर मागभन्दा ५/६ गुणासम्म आवेदन पर्ने सम्भावना देखिएको उनले बताए । कम्पनीले दोलखामा निर्माण सम्पन्न २५ मेगावाटको सिंगटी खोला जलविद्युत आयोजनाको सर्वसाधारणका लागि छुट्याएको सेयरको बिक्री बिहानबाट खुलाएको छ । 

प्रतिकित्ता सय रुपैयाँ अंकित २९ करोड रुपैयाँ बराबरको २९ लाख कित्ता सेयर निष्कासन गरिएको कम्पनीले जनाएको छ । निष्कासन भएको सेयरमध्ये ५८ लाख रुपैयाँ बराबरको ५८ हजार कित्ता अर्थात २ प्रतिशत  सेयर कम्पनीमा कार्यरत कर्मचारीका लागि सुरक्षित गरिएको छ ।

१ करोड ४५ लाख रुपैयाँ बराबरको १ लाख ४५ हजार कित्ता अर्थात ५ प्रतिशत सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी २६ करोड ९७ लाख रुपैयाँ बराबरको २६ लाख ९७ हजार कित्ता सेयर सर्वसाधारणका लागि खुल्ला गरिएको कम्पनीले जनाएको छ ।

सर्वसाधारणले न्युनतम १० कित्तादेखि अधिकतम २ लाख कित्तासम्म आवेदन दिन पाउनेछन् । आवेदकले छिटोमा चैत्र १० गतेसम्म र ढिलोमा चैत्र २० गतेसम्म आवेदन दिन पाउनेछन् ।

कम्पनीले सेयर निष्कासन गरी बाँडफाँड गर्न मेगा क्यापिटललाई बिक्री प्रबन्धक तोकेको छ । कम्पनीले यसअघि पनि आयोजना प्रभावित स्थानीयका लागि छुट्याएको १४ करोड ५० लाख रुपैयाँ बराबरको १४ लाख ५० हजार कित्ता सेयर निष्कासन गरी बाडफाँड गरिसकेको छ । स्थानीयका लागि छुट्याइएको सेयरका लागि पनि मागभन्दा बढी आवेदन परेको थियो ।

ताजा अपडेट