दक्षिण अफ्रिका लेजेन्ड्सलाई ८ विकेटले पराजित गर्दै श्रीलंका लेजेन्ड्स फाइनलमा

भारत । शुक्रबार राती भएको सेमिफाइनलमा श्रीलंकाले सहज जितका साथ फाइनलमा भारतसँग भेट पक्का गरेको छ । जितको लागि १ सय २६ रनको विजयी लक्ष्य पछ्याएको श्रीलंका लेजेन्ड्सले १७.२ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । श्रीलंका ओपनर तथा कप्तान तिलकरत्ने दिलशान र सनथ जयसूर्या १८–१८ रनमा आउट भए ।उपुल थरंगा ४४ बलमा ५ चौका सहित ३९ रनमा अविजित रहे । चिन्थाक जयसिंघे २५ बलमा ८ चौका र १ छक्का सहित ४७ रनमा अविजित रहँदै फाइनल यात्रा पक्का गरे । तेस्रो विकेटका लागि जयसिंघे र थरंगाले ७० रनको अविजित साझेदारी गर्दै जित दिलाएका थिए । दक्षिण अफ्रिका माखाया एनतिनी र एल्भिरो पीटरसनले १–१ विकेट लिए ।त्यसअघि सहिद वीर नारायण सिंह अन्तर्राष्ट्रिय स्टेडियम रायपुरमा टस हारेर ब्याटिङ थालेको दक्षिण अफ्रिका २० ओभरमा १ सय २५ रनमा अल आउट भएको थियो । दक्षिण अफ्रिका ओपनर मोर्ने भ्यान विकले ४७ बलमा ८ चौका सहित सर्वाधिक ५३ रन बनाए । अल्भिरो पीटरसन २७ बलमा ५ चौका सहित २७ र जस्टिन केम्प १५ रनमा आउट भए । श्रीलंका तीव्र गतिका बलर नुवान कुलसेकराले ४ ओभरमा २५ रन खर्चेर ५ विकेट लिदै ‘प्लेयर अफ द म्याच’ चुनिए । फाइनल आइतबार साँझ हुने छ ।