ट्रेन्ट बोल्टको उत्कृष्ट बलिङमा न्युजिल्यान्डको जित

जितका लागि १ सय ३२ रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्डले २१.२ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो । न्युजिल्यान्डका ओपनर हेनरी निकोलस ५३ बलमा ६ चौका सहित ४९ रनमा अविजित रहे । विल योंग ११ रनमा अविजित रहँदा ओपनर मार्टिन गुप्टिल ३८ र डेभन कन्वे २७ रनमा आउट भए । आक्रामक सुरुवात दिएका गुप्टिलले १९ बलमा ३ चौका र ४ छक्का प्रहार गरे । बंगलादेशका हसन मोहम्मद तस्किन अहमद १–१ विकेट लिए ।त्यसअघि युनिभर्सिटी ओभल डुनेदिनमा टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेश ४१.५ ओभरमा १ सय ३१ रनमा अल आउट भयो । बंगलादेशका महमुदूल्लाहले सर्वाधिक २७ रन बनाए । कप्तान तमिम इकबाल १३, लिटन दास १९, मुश्फिकुर रहिम २३ र मेहदी हसन १४ रनमा आउट भए ।न्युजिल्यान्डका तीव्र गतिका बलर ट्रेन्ट बोल्टले ८.५ ओभरमा २७ रन खर्चेर ४ विकेट लिए । जेम्श निशम र मिचेल सान्टनारले २–२ विकेट लिए । ट्रेन्ट बोल्ट ‘प्लेयर अफ द म्याच’ चुनिए । दोस्रो ओडिआई मंगलबार हुने छ ।