ट्रक दुर्घटनामा पाँचको मृत्यु, तीन घाइते:मनाङ

मनाङ ।मनाङमा शनिबार भएको ट्रक दुर्घटनामा एकै परिवारका तीनसहित पांच जनाको मृत्यु भएको छ।

मनाङको नासों गाउँपालिका वडा नं. ४ स्थित खोत्रोमा भएको सवारी दुर्घटनामा परी घटनास्थलमा तीनजनाको मृत्यु भएको थियो भने गम्भिर घाईते भई उपचारका लागि लमजुङ ल्याउने क्रममा दुईजनाको बाटोमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय लमजुङले दिएको जानकारी अनुसार, बेंसीशहरबाट सिमेन्ट बोकेर मनाङको सदरमुकाम चामे जाँदै गरेको ध१ख ५९२ नम्बरको ट्रक शनिबार दिउँसो साढे ३ बजे सडकबाट ६० मिटरजति तल मर्स्याङ्दी नदीमा खसेर दुर्घटनाग्रस्त बनेको थियो।  त्यस दुर्घटनामा परेर मनाङको नासों गाउँपालिका वडा नं. ४ ओडार गाउँका अन्दाजी डेढ वर्षका लियोन गुरुङ, ३५ वर्षीया मनिषा गुरुङ र अन्दाजी ३१ वर्षीया जलकाशी गुरुङको घटनास्थलमै मृत्यु भएको हो । मृतक लियोन मनिषाको छोरा हुन् । मनिषा र जलकाशी दिदीबहिनी हुन् ।

दुर्घटनामा घाईते पाँचजना मध्ये उपचारका क्रममा लमजुङ ल्याउँदै गर्दा ट्रकका सहचालक मर्स्याङ्दी गाउँपालिका वडा नं. ५ घेर्मु खोरियाखेतका २१ वर्षीय लक्ष्मण नेपाली र चामे गाउँपालिका वडा नं. ४ का २८ वर्षीय राजु विकको बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डीएसपी गंगाबहादुर थापाले जानकारी दिए।  उनीहरुलाई हिजो (शनिबार) राती ८ बजे लमजुङ जिल्ला अस्पतालमा पु¥याउने वित्तिकै चिकित्सकले मृत घोषणा गरेका थिए ।घटनामा परी गम्भीर घाइते भएकाहरु मध्ये अन्य ट्रकका चालक तनहुँको भानु नगरपालिका वडा नं. ३ का २४ वर्षीय सुमन तामाङ, नासों गाउँपालिका वडा नं. ४ का अन्दाजी ४ वर्षीय थियोन गुरुङ र अन्दाजी ६ वर्षीय नियोल गुरुङको जिल्ला अस्पताल लमजुङमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि पुरानो मेडिकल कलेज चितवन पथाइएको प्रहरीले जनाएको छ  ।ट्रक दुर्घटना हुनुको कारणबारे खोजि भैरहेको छ ।