चार्जिङ स्टेसनको जिम्मा चिनियाँ कम्पनीलाई

काठमाडौं ।नेपाल विद्युत् प्राधिकरणले चार्जिङ स्टेसन निर्माणको जिम्मा चिनियाँ कम्पनीलाई दिएको छ । प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयको विद्युतीय सवारी पूर्वाधार निर्माण आयोजअन्तर्गत चार्जिङ स्टेसन निर्माण गर्न यसै साता सम्झौता हुने भएको छ । उपत्यकासहित देशभर विद्युतीय गाडी चार्ज गर्ने ५० चार्जिङ स्टेसन निर्माणको गरिने भएको छ ।

सबै चार्जिङ स्टेसनको निर्माण सम्पन्न गरी सञ्चालन ल्याउँदासम्म करिब ३८ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । यस लागतमा ट्रान्सफर्मर खरिद तथा जडान, हाई तथा लो टेन्सन लाइन तान्ने, सिभिल संरचना निर्माण, चार्जिङ स्टेसन निर्माण, सफ्टवेयर तथा कम्युनिकेसन, डिजिटल बिल भुक्तानी सेवा आदिको संरचना तयार हुनेछ ।

यो लगायत निर्माणको काम सक्न १ वर्षको समय मिल्ने भए पनि ठेक्का सम्झौता भएको ६ देखि ८ महिनामै सबै स्टेसनको निर्माण भइसक्ने आयोजनाले जनाएको छ ।यसका लागि एसियाली विकास बैंक (एडीबी)ले ऋण लगानी गरेको छ ।