मेलम्चीको पानी एक जनालाई ७५ लिटर

काठमाडौँ । काठमाडौँवासीले मेलम्चीको पानी दिनहुँ प्रतिव्यक्ति ७५ लिटर उपयोग गर्न सकिने खानेपानी तथा सरसफाइ मन्त्रालयले जनाएको छ । हाल प्रत्येक घरमा करिब १० जना बस्ने र तिनीहरुले ७५ लिटरसम्म पानी प्रयोग गर्ने अनुमान गरिएको छ ।

मेलम्चीबाट पहिलो चरणमा आउने पानी खान मिल्ने प्रशोधित पानी आउने भएको छ । मेलम्चीको खानेपानी काठमाडौँ उपत्यकामा पठाउन तोकिएकै समय अर्थात् यही चैत्र १५ गते भित्र आउने भएको छ ।

कार्यविधि अनुसार १० दिन सुरुङ भित्र पानी होल्ड गरेर राख्नु पर्ने भएकाले यसै अनुसार पानी राखिएको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो । सुरूङमा पानी थुनेर अनुगमन भइरहेको बताउँदै उहाँले केही दिनमै प्रशोधन केन्द्रमा पानी पठाइने बताउनुभयो ।चैतको दोस्रो साताबाट काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण गर्ने कार्यतालिका तय भएको विकास समितिले यस अघिनै बताइसकेको थियो । प्रवक्ता पन्तले मेलम्चीको पानी सुन्दरीजलबाट प्रशोधन गरेर पठाउनका लागि गृहकार्य अन्तिम चरणमा पुगेको बताउनुभयो ।