थ्री नेसन्स कपमा बंगलादेशको विजयी सुरूवात

काठमाडौं । बंगलादेशले थ्री नेसन्स कपको पहिलो खेलमा किर्गिस्तानको यु–२३ टोलीलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा बंगलादेशले किर्गिस्तानको युवा टोलीलाई १–० ले पराजित गरेको हो ।पहिलो हाफमा कुमारबाज उलु वाइयमानले गरेको आत्मघाती गोल नै बंगलादेशको जितमा निर्णायक बन्यो । बंगलादेशको सिनियर टोलीले किर्गिस्तानलाई पहिलोपटक हराएको हो । यसअघि चार भेटमा बंगलादेशले किर्गिस्तानको सिनियर टोलीसँग जित निकाल्न सकेको थिएन । बंगलादेशले किर्गिस्तानको युवा टोलीमाथि खेलको सुरुवातदेखि नै दवाव बढाएको थियो ।३०औं मिनेटमा कुमारवाज युलु वाइयामानको आत्मघाती गोलबाट बंगलादेशले खेलमा १–० को अग्रता लियो । मोहम्मद साद उद्धिनको क्रसलाई कुमारवाजले क्लियर गर्न खोज्दा आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए । दोस्रो हाफमा पनि बंगलादेशले दवाव बढाएपनि थप गोल गर्न नसक्दा पहिलो हाफको आत्मघाती गोल नै निर्णायक बन्यो । किर्गिस्तानले बंगलादेशको खासै आक्रमण बुन्न नसकेपनि खेलको अन्त्यतिर किर्गिस्तानले तीन अवसर सिर्जना गरेपनि पनि सदुपयोग गर्न सकेन ।८६औं मिनेटमा सव्सिच्युट आर्तेक रिसकेल्दीको प्रहार आकासिदा किर्गिस्तान बराबरीबाट चुक्यो । इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा जापारोभ अमिरको फ्रिकिकलाई रियादुल हसनले हेडमार्फत क्लियर गरे । त्यसमै प्राप्त फ्रिकिलाई पनि सदुपयोग गर्न नसक्दा किर्गिस्तान पराजित हुन पुग्यो ।बंगलादेशका कप्तान सोहेल राना खेलको म्यान अफ दि म्याच घोषित भए । उनले २५० अमेरिकी डलर हात पारे । जितपछि बंगलादेशको ३ अंक पुगेको छ । बंगलादेशको फाइनल पुग्ने सम्भावना बलियो बनेको छ । पराजित किर्गिस्तानको शुन्य अंक छ ।नेपालले पहिलो खेल चैत १२ गते कीर्तिस्तान टोलीसँग खेल्नेछ । नेपालले अर्को खेल चैत १४ मा बंगलादेशविरुद्ध खेल्नेछ । राउन्ड रोबिन लिगपछि शीर्ष २ टोलीले चैत १६ गते फाइनल खेल्नेछन् । एन्फाले प्रतियोगिताका लागि भिआइपीतर्फ १ हजार ५ सय र साधारण प्यारापिटतर्फ ७ सय टिकट दर तोकेको छ । विजेता टोलीले ५ हजार र दोस्रो टोलीले ३ हजार अमेरिकी डलर प्राप्त गर्नेछ ।