सब–इन्जिनियरमाथि वडाध्यक्षले कुटपिट

रुपन्देहीको मर्चवारी गाउँपालिकामा कार्यरत सब–इन्जिनियरमाथि वडाध्यक्षले कुटपिट गरेका छन् । कुटपिटको विरोधमा गाउँपालिकाको काम ठप्पसमेत पारिएको छ ।

वडा नम्बर ३ का वडाध्यक्ष नारायणबहादुर यादवले सब–इन्जिनियर प्रेम सागर पासवानलाई कुटपिट गरेको कर्मचारीहरुको आरोप छ ।

वडाध्यक्षले थोरै चौडाइको सडक कालोपत्रे गरेर धेरैको कागज गर्न लगाएको तर, आफूले नमानेपछि कुटपिट गरेको पासवानको आरोप छ ।

वडाको रायपुरको करिब १३ मिटर सडक कलोपत्रे गर्न उपभोक्ता समितिमार्फत एक करोड रुपैयाँ निस्कासन गरिएको थियो । तर, सो सडकको काम वडाध्यक्ष आफैले लिएर कालोपत्रे गरेको स्थानीयको आरोप छ ।

कुटपिटको विषयमा जाहेरी दर्ता गर्न जिल्ला प्रहरी कार्यालय पुगेको कर्मचारी संगठनको टोलीलाई प्रहरीले जोहरी नलिई फर्काइदिएको थियो ।