रोहिंग्या शिविरको आगलागीमा १५ शरणार्थीको मृत्यु, ४ सय बेपत्ता

एजेन्सी । सोमबार दक्षिण बंगलादेशस्थित रोहिंग्या शरणार्थी शिविरमा भएको आगलागीमा परी १५ जनाको मृत्यु भएको छ, ४०० जना बेपत्ता भएका छन् ।  
ती १५ लाशहरु जलेको अवस्थामा फेला परेका थिए ।

शिविरमा भएका बाँसको अस्थायी बास सबै जलेर खरानी भएको जानकारी प्राप्त भएको छ । यसकारण, धेरै शरणार्थीहरु आश्रयविहिन बन्न पुगेका कुरा पीडित पक्षले उदास भावमा बताए ।

शिविरमा १० लाखभन्दा बढी शरणार्थीको बसोबास भएको जानकारी छ। सो आगलागी नियन्त्रणमा १ हजारभन्दा धेरै स्वयंसेवक, कर्मचारी र उद्घारकर्ता खटिएका थिए।

संयुक्त राष्ट्रसंघीय शरणार्थी निकाय (युएनएचसिआर) का एक प्रवक्ताको बयान अनुसार उक्त प्रकोपमा परी  हराएकाको सङ्ख्या ४०० पुगेको र घाइतेको सङ्ख्या करिब ५६० पुगेको छ। र, ४५ हजारभन्दा बढी शरणार्थीहरु विस्थापित भएको जानकारी स्रोतले दिएको छ।

सन् २०१७ मा म्यानमारका नागरिक सेनाको दमनबाट आफैँलाई बचाउन ठूलै सङ्ख्यामा बंग्लादेशमा शरण लिन आएका थिए। बंगलादेश र म्यानमारबीच विगतमा शरणार्थीलाई आफ्नो देश फर्काउने विषयमा वार्ता भए तापनि शरणार्थीहरु आफ्नो राष्ट्रको सुरक्षामा विश्वस्त नभएको कारण राष्ट्र फर्कन नचाहेको अवस्था छ।