अपराध अनुसन्धानको कार्यशैली सुधार गर्न गृह सचिवको निर्देशन

काठमाडौं। बुधबार प्रहरी प्रधान कार्यालयको निरीक्षण गरी त्यँहाबाट गरेका गतिविधि तथा प्रगतिबारे गृहसचिव महेश्‍वर न्यौपानेले जानकारी लिएका छन्।

गृहसचिव न्यौपानेले कार्यालयको कार्यालय कमाण्ड सेन्टरको अवलोकन गर्दै  भिडियो कन्फरेन्सद्वारा ७ वटै प्रदेश प्रहरी कार्यालयको शान्ति सुरक्षाबारे जानकारी लिएका प्रहरी प्रधान कार्यालयले सूचनामार्फत जानकारी दिएको छ।

प्रदेशको शान्ति सुरक्षाको अवस्था चुस्त दुरुस्त राख्‍न तथा आ-आफ्नो क्षेत्रमा तस्कारी नियन्त्रण एवम् राजश्‍व वृद्धिमा थप सक्रियता बढाउ निर्देशन दिए। गृहसचिव न्यौपानेले कार्यालयमा उपस्थित प्रहरी अधिकृत तथा जवानहरूलाई आचरण एवम् अनुशासनप्रति संवेदनशील भई पूर्ण ईमानदारिताका साथ आफ्नो प्रतिबद्धतामा नडगमगाई जिम्मेवारी वहन गर्न निर्देशन दिए। 

गृहसचिव न्यौपानेले प्रहरी संगठन सुधार, भौतिक पूर्वाधार निर्माण, वृत्ति विकास लगायतका विषयमा मन्त्रालयले छलफल अगाडि बढाएको बताए। यस वर्ष जस्तै आउँदो वर्ष पनि बेरुजु फर्छ्‍यौटमा सर्वोत्कृष्ट हुनेतर्फ ध्यान केन्द्रीत गरी टिम बनाई थप सक्रियताका साथ लाग्‍नु पर्ने उनको भनाइ छ।  

गृहसचिव न्यौपानेले नेपाल प्रहरी संगठनको सुदृढिकरणमा गृह मन्त्रालय सदैव दृढ एवम् क्रियाशील रहेको बताए। उनले प्रहरीका कार्यालयहरूको गतिविधि अनुगमन तथा कारबाही प्रकृया बढाउन जरुरी रहेको बताए।

गृह प्रशासन सुधार योजना कार्यान्वयन र अपराध अनुसन्धान तथा नियन्त्रण, क्षमता अभिवृद्धिलगायतका कार्य योजनामा प्रहरी निरन्तर सुधारको पक्षमा लाग्‍नु गर्ने न्यौपानेले बताए। 

 
प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले गृहसचिवको निर्देशनलाई प्रहरीले थप जिम्मेवारी बोधसहित कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे। प्रहरीले आफ्नो क्षमता प्रदर्शन भन्दा पनि इमानदार भई कार्यसम्पादन गर्नुपर्ने थापाले बताए। 

प्रहरीले आन्तरिक शुद्धिकरणलाई निरन्तरता दिई प्राथमिकतामा राखेर प्रणालीमा ल्याउने प्रयास भइरहेको बताए। प्रहरीको आचरण व्यवहारलाई अझै सुधार गर्न नेपाल प्रहरीले विभिन्‍न कार्य योजना तय गरी मासिक समीक्षा गर्दै यसको पूरा कार्यान्वयनमा जोड दिएको उनले बताए।