कोरोना कहरसँगै उद्योग दर्ता हुने क्रम बढ्दै

कैलाली । कोरोना भाइरस सङ्क्रमण भाइरसको असरबीच कैलालीमा उद्योग दर्ता हुने क्रम बढेको छ। पछिल्लो आठ महिनायता जिल्लामा उद्योग दर्ता हुने क्रम बढेको घरेलु तथा सना उद्योग कार्यालयले जनाएको छ। चालु आवकोे आठ महिनामा मात्रै जिल्लामा दुई हजार ४२७ नयाँ उद्योग दर्ता भइसकेका छन् ।  

आव २०७५\७६ मा एक हजार २३४ र गत आव २०७६\७७ मा एक हजार ११४ उद्योग दर्ता भएकामा चालु वर्षको आठ महिनामा नयाँ उद्योग दर्ता भएका हुन् । नयाँ दर्ता हुने उद्योगमा उत्पादनका २६७, कृषिका एक हजार ५९५, सेवाका ५६३ र पर्यटनका दुई छन् । 

कार्यालयका प्रमुख नवराज भट्टले भने, ‘कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण स्वदेश फर्किनेहरू बढेका र देशभित्रै पनि बेरोजगारी बढ्दै गएसँगै उद्यमशीलता गर्नुपर्छ भन्ने भावनाको विकास हुँदा उद्योग दर्ता हुने क्रम पनि बढेको देखिन्छ ।’ यसबाहेक महिलाको नाममा दर्ता हुने प्राइभेट फार्मसम्बन्धी उद्योग दर्तामा छुट दिइने र बैंक ब्याजमा समेत सहुलियत दिइने सरकारको नीति रहेकाले महिलाका नाममा बढी उद्योग दर्ता हुने गरेको पनि देखिएको भट्टले बताए ।

ताजा अपडेट