थ्री नेसन्स कपको फाइनलमा नेपाल

काठमाडौं । नेपाल घरेलु मैदानमा जारी थ्री नेसन्स कपको फाइनलमा प्रवेश गरेको छ । शनिबार राउन्ड रोविन लिगको अन्तिम खेलमा बंगलादेशसँग गोलरहित बराबरी खेल्दै नेपालले फाइनलमा स्थान बनाएको हो ।

अब फाइनलमा नेपाल र बंगलादेशबीच नै प्रतिस्र्धा हुनेछ । फाइनल सोमबार हुनेछ । विजेताले ५ हजार अमेरिकी डलर हात पार्नेछ ।
लिग चरणमा नेपालले दुई खेलबाट २ अंक जोडेर दोस्रो स्थानमा रह्यो । शीर्षस्थानको बंगलादेशले २ खेलबाट ४ अंक जोड्यो । नेपाल र बंगलादेशको बराबरीले किर्गिस्तानको यु–२३ टोली प्रतियोगिताबाट बाहिरिएको छ । किर्गिस्तानले लिग चरणमा १ अंक जोड्यो । किर्गिस्तान बंगलादेशसँग पराजित हुदा नेपालसँग गोलरहित बराबरी खेलेको थियो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा घरेलु टोली नेपालले बल पोसेसनमा बलियो पकड बनाएपनि गोल गर्न नसक्दा खेल गोलरहित बराबरीमा सकिएको हो । खेलको २१औं मिनेटमा त्रिदेव गुरुङको क्रसमा अन्जन विष्टको फ्रि हेडर पोस्टको माथिबाट बाहिरिदा नेपाल अग्रता लिनबाट चुक्यो । २४औं मिनेटमा त्रिदेव गुरुङको प्रहारले पोस्टको दिशा लिन सकेन ।

३७औं मिनेटमा फ्रिकिकबाट आएको बललाई बंगलादेशका खेलाडीले हेडरलाई रोहित चन्दले क्लियर गर्दै नेपालको संकट टारे । ४०औं मिनेटमा कप्तान जमल भुयाको फ्रिकिक पोस्ट नजिकैबाट बाहिरिदा बंगलादेश अग्रता लिनबाट चुक्यो । ५४औं मिनेटमा जमल भुयाको फ्रिकिकलाई नेपाली टोलीका गोलरक्षक तथा कप्तान किरण चेम्जोङले सहजै बचाए । ५९औं मिनेटमा सुनिल बलको पासमा अन्जन विष्टको फितलो प्रहारलाई बंगलादेशका गोलरक्षक मोहम्मद साहिदुल आलमले सहजै नियन्त्रणमा लिए ।

६४औं मिनेटमा सुनिल बलको क्रस पासमा त्रिदेव गुरुङको पेनाल्टी बक्सबाहिरको प्रहाले पोस्टको गति लिन सकेन । ६५औं मिनेटमा रन्जित धिमालको क्रसमा अभिषेक रिजालको हेडर बाहिरिदा नेपालले अग्रता लिन सकेन । ८२औं मिनेटमा दिनेश राजवंशीको थ्रु बलमा दर्शन गुरुङको हेडर क्रसबारमा लागेर बाहिरिदा नेपाल अग्रता लिनबाट चुक्यो ।

ताजा अपडेट