म्यानमारमा एकैदिन ११४ को मृत्यु

People stand on a barricade during a protest against the military coup, in Yangon, Myanmar March 27, 2021. REUTERS/Stringer

म्यानमारमा सुरक्षाकर्मीको गोली लागेर एकैदिन पाँच वर्षका बच्चासहित ११४ को मृत्यु।

गत फेब्रुअरी १ मा कूमार्फत् सत्ता हत्याएको सेनाले त्यसपछि पहिलो पटक एकैदिन यति धेरै नागरिकको ज्यान लिएको हो। नोभेम्बरमा भएको चुनावमा धाँधली भएको भन्दै नयाँ चुनाव गराउँछु भनेर सत्ता लिएको सेनाले चलाएको गोली लागेर अहिलेसम्म ४४० जनाले ज्यान गुमाएका छन्।

सेनाले सत्ता लिएपछि  म्यानमारमा दिनदिनै विरोध प्रदर्शन भइरहेका छन्। यसअघिका प्रदर्शनमा पनि सेनाले दमन गर्दै आएको थियो तर शनिबार एकैदिन १०० बढी प्रदर्शनकारीको हत्या गरिएको हो। 

उनीहरूले हामीलाई हाम्रै घरभित्र चरा मारेझैं मारिरहेका छन्,’ एक जना प्रदर्शनकारी थु या जले समाचार संस्था रोयटर्ससँग भनेका छन्,’तर जे भए पनि हामी प्रदर्शन जारी राख्नेछौं। जुन्ता शासन नढलेसम्म हाम्रो आन्दोलन भइरहने छ।’

यसैबीच अमेरिकालगायत दर्जन मुलुकका सैनिक अधिकारीले म्यानमारको सेनाले शनिबार गरेको दमनको विरोध गर्न लागेका छन्। उनीहरूले संयुक्त विज्ञप्ति जारी गरेर सैनिक क्रुरताको विरोध गर्न लागेको रोयटर्सले जनाएको छ।