बंगलादेशलाई २ सय ११ रनको विशाल लक्ष्य

शीर्षक्रमका विकेटकिपर ब्याट्सम्यान देभन कन्वेको उत्कृष्ट ब्याटिङको सहयोगमा न्युजिल्यान्डले पहिलो टि२० आई खेलमा बंगलादेशलाई २ सय ११ रनको विशाल लक्ष्य दिएको छ ।

आइतबार विहान ह्यामिल्टनमा टस जितेर पहिला ब्याटिङ रोजेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय १० रन बनायो । न्युजिल्यान्डका देभन कन्वे ५२ बलमा ११ चौका र ३ छक्का सहित ९२ रनमा अविजित रहे । डेब्यू खेल खेलेका विल योंगले ३० बलमा २ चौका र ४ छक्का सहित ५३ रनको अर्धशतकीय इनिङ खेले ।


डेब्यू खेल खेलेका अर्का युवा ओपनर फिन एलेनलाई पहिलो ओभरको अन्तिम बलमा नसुम अहमदले शून्यमा बोल्ड आउट गरेका थिए । ओपनर मार्टिन गुप्टिलले २७ बलमा ३ चौका र २ छक्का सहित ३५ रनमा क्याच आउट हुन पुगे । तेस्रो विकेटका लागि कन्वे र याेंगले ६० बलमा १ सय ५ रनको शतकीय साझेदारी गरेका थिए । त्यसअघि कन्वेले दोस्रो विकेटका लागि मार्टिन गुप्टिलसँग मिलेर ३८ बलमा ५२ रनको साझेदारी गरेका थिए ।ग्लेन फिलिप्स १० बलमा ३ चौका र १ छक्का सहित २४ रनमा अविजित रहे । चौथो विकेटका लागि कन्वे र फिलिप्सले २० बलमा ५२ रनको अविजित साझेदारी गरे । बंगलादेशका नसुम अहमदले ४ ओभरमा ३० रन खर्चेर २ विकेट लिए । मेहेदी हसनको नाममा १ विकेट रह्यो ।

ताजा अपडेट