इंग्ल्यान्डले अल्वानियालाई उसकै मैदानमा पराजित

 कप्तान ह्यारी केन र मासन माउन्टको गोल मद्दतमा इंग्ल्यान्डले विश्वकप छनोटमा अल्वानियामाथि २–० को सहज जित हात पारेको छ । इंग्ल्यान्डले अल्वानियालाई उसकै मैदानमा पराजित गरेको हो ।विश्वकप छनोटमा इंग्ल्यान्डको यो लगातार दोस्रो जित हो । यसअघि पहिलो राउन्डको खेलमा इंग्ल्यान्डले सान मारिनोमाथि ५–० को फराकिलो जित हात पारेको थियो । टिरआना अल्वानियामा आइतबार राति भएको पाहुना टोली इंग्ल्यान्डले खेलको ३८औं मिनेटमा कप्तान ह्यारी केनको गोलबाट अग्रता लिएको थियो । उनले लुके साको पासमा गोल गरेका थिए । ६३औं मिनेटमा कप्तान केनको पासमा मासन माउन्टले गोल गर्दै इंग्ल्यान्डलाई २–० को सहज जित दिलाए ।

जितसँगै समूह ‘आई’ मा इंग्ल्यान्ड २ खेलबाट ६ अंक जोडेर शीर्षस्थानमा रहेको छ । समान ४ अंक भएपनि पोल्यान्ड र हंगेरी दोस्रो र तेस्रो स्थानमा रहेको छ । ३ अंक जोडेको अल्वानिया चौथो स्थानमा रहँदा अंकविहीन एन्डोरा र सान मारिनो पाँचौ र छैटौ स्थानमा रहेको छ ।

यही समूहको अर्काे खेलमा पोल्यान्डले एन्डोरालाई तथा हंगेरीले सानमारिनोलाई समान ३–० ले पराजित गरेको थियो । पोल्यान्डको जितमा रोवर्ट लेवान्डोस्कीले दुई तथा कारोल स्विडर्सकीले एक गोल थपे । हंगेरीको जितमा एडाम सजलाई, रोलान्ड सल्लाई र नेमान्जा निकोलिकले गोल गरे ।