न्युजिल्यान्डको क्लिनस्विप

न्युजिल्यान्डले बंगलादेशसँगको तीन टि२० आई सिरिजमा सानदार क्लिनस्विप गरेको छ । घरेलु टोली न्युजिल्यान्डले तेस्रो तथा अन्तिम टि२० आई खेलमा ६५ रनले हराउँदै क्लिनस्विप गरेको हो ।

जितको लागि १ सय ४२ रनको विजयी लक्ष्य पछ्याएको बंगलादेश ९.३ ओभरमा ७६ रनमा अल आउट हुन पुग्यो । बंगलादेशका ओपनर मोहम्मद नईम १९, मोद्दासेक होसिनले १३ र सौम्य सरकार १० रन बनाउन बाहेक अन्यले राम्रो प्रदर्शन गर्न सकेनन् । बंगलादेशका ८ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।


न्युजिल्यान्डका स्पिनर टोड एस्टेलले २ ओभरमा १३ रन खर्चेर ४ विकेट लिए । कप्तान टिम साउथीले २ ओभरमा १५ रन खर्चेर ३ विकेट लिए । एडम मिल्ने, ग्लेन फिलिप्स र ल्योकी फर्गुसनले १–१ विकेट लिए ।

त्यसअघि वर्षाको कारण १० ओभरमा छोटाईएको खेलमा घरेलु टोली न्युजिल्यान्डले अकल्यान्डमा टस हारेर पहिला ब्याटिङ गर्दै ४ विकेटको क्षतिमा १ सय ४१ रन बनाएको थियो । न्युजिल्यान्डका २१ वर्षिय ब्याट्सम्यान फिन एलेनले २९ बलमा १० चौका र ३ छक्का सहित ७१ रनको विष्फोटक इनिङ खेले । आफ्नो टि२० आई करिअरको तेस्रो खेल खेलि रहेका एलेनलले मात्र १८ बलमा अर्धशतक पूरा गरेका थिए ।

न्युजिल्यान्डलाई ओपनर फिन एलेन र मार्टिन गुप्टिलले ५.४ ओभरमा ८५ रनको आक्रामक साझेदारीका साथ उत्कृष्ट सुरुवात दिलाएका थिए । स्पिनर मेहदी हसनको बलमा ठूलो सट खेल्ने धुनमा गुप्टिल ४४ रनमा अफिफ होसिनबाट समातिन पुगे । गुप्टिलले १९ बलमा १ चौका र ५ छक्का प्रहार गरे । तेस्रो नम्बरमा ब्याटिङ गरेका ग्लेन फिलिप्स ६ बलमा २ छक्का सहित १४ रनमा क्याच आउट भए । डर्याल मिचेल ११ रनमा आउट भए । बंगलादेशका शोरिफुल ईस्लाम, तस्किन अहमद र मेहेदी हसनले १–१ विकेट लिए ।

न्युजिल्यान्ड पहिलो खेलमा ६६ र दोस्रो खेलमा २८ रनले विजयी भएको थियो । तीन ओडिआई सिरिज पनि न्युजिल्यान्डले क्लिनस्विप गरेको थियो ।