किरण चेम्जोङ एएफसी साताको उत्कृष्ट खेलाडी मनोनयन

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान तथा गोलरक्षक किरण चेम्जोङ एसियाली फुटबल महासंघ (एएफसी) को साताको उत्कृष्ट अन्तर्राष्ट्रिय खेलाडीको मनोनयनमा परेका छन् ।

किरणको कप्तानीमा नेपालले यसै साता अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गरेको आमन्त्रण प्रतियोगिता थ्री नेसन्स कपको उपाधि जितेको थियो । किरणले प्रतियोगितामा तीन खेल खेल्ने क्रममा दुई खेलमा क्लिन सिट राखेका थिए । त्यसै प्रदर्शनको आधारमा उनलाई उत्कृष्ट खेलाडी मनोनयनमा समावेश गरिएको एएफसीले उल्लेख गरेको छ ।

मनोनयनमा किरणसँगै युरोपेली फुटबलका शीर्ष डिभिजन क्लबमा खेल्ने खेलाडीहरु छन् । यूएईका अलि मब्खोउट, कतारका मोहमद मुन्टारी, जापानका युया ओसाको, इरानका सरदार अज्मौन, साउदी अरेबियाका सलेह अल शेहरी, इराकका अला अलि म्ह्वाई, बहराइनका मोहमर मर्होन, जोर्डनका मुसा अल तामारी र ताजिकिस्तानका अलिशेर जलिलोभ मनोनयनमा छन् ।

ताजा अपडेट