लाइसेन्सको नयाँ नियम आगामी जेठ १ गतेबाट लागू हुने

दुईपांग्रे सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को प्रयोगात्मक परीक्षामा ७० अंक ल्याए पास हुने व्यवस्था आगामी जेठ १ गतेबाट लागू हुने भएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७ लाई सैद्धान्तिक सहमति दिएसँगै यातायात व्यवस्था विभागले जेठ १ गतेबाट लागू गर्ने भएको हो।

मन्त्रालयले सहमति दिएको कार्यविधिमा विभागले कार्यान्वयन मिति तोकेपछि प्रयोगात्मक परीक्षा (ट्रायल)मा कम्तीमा ७० अंक ल्याएको व्यक्ति पास हुनेछ।

अहिलेको व्यवस्थाअनुसार प्रयोगात्मक परीक्षामा कुनै सामान्य गल्ती भए पनि फेल अर्थात् १०० पूर्णाङ्कमा १०० नै ल्याउनुपर्ने व्यवस्था छ।

‘भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नयाँ व्यवस्थाको लागि सहमति दिइसकेको छ’, यातायात व्यवस्था विभागका प्रवक्ता डा.लोकनाथ भुषालले भने, ‘कार्यविधि निर्देशिका जेठ १ गतेबाट देशभर लागू हुन्छ।’

नयाँ निर्देशिकाले मोटरसाइकल, स्कुटर, मोपेडका सवारीसाधनको प्रयोगात्मकसहित लिखित परीक्षामा पनि केही फेरबदल गरेको छ।

लिखित परीक्षामा सवारी तथा यातायात व्यवस्थासम्बन्धी कानुनी प्रावधान, ट्राफिक नियमको पालना तथा सवारीसाधनको प्राविधिक पक्षसम्बन्धी सामान्य व्यावहारिक ज्ञानका विषय समेटी ५–५ अंकका जम्मा २० वटा प्रश्न सोधिनेछ।

लिखित परीक्षा प्रयोजनका लागि यातायात व्यवस्था विभागले ५ सय वटा वस्तुगत बहुउत्तर प्रश्नको संग्रह प्रकाशन गर्नेछ। सोही संग्रहबाट मात्र सम्बन्धित कार्यालयले लिखित परीक्षाको प्रश्नपत्र तयार गर्नेछ।

लिखित परीक्षाको समयावधि ३० मिनेटको हुनेछ। लिखित परीक्षामा न्यूनतम ८० अंक प्राप्त गर्ने परीक्षार्थी उत्तीर्ण हुनेछ। सम्बन्धित कार्यालयले विद्युतीय माध्यमबाट समेत लिखित परीक्षा सञ्चालन गर्न सक्नेछन्।