गोरखामा बोलेरो जीप दुर्घटनामा लम्जुङका दुई शिक्षकको मृत्यू र सात घाइते

गोरखा ।गोरखाको बारपाकमा भएको बोलेरो जीप दुर्घटनामा लम्जुङका दुई शिक्षकको मृत्यू भएको छ । एउटै विद्यालयका सातजना शिक्षक घाइते भएका छन् ।


बारपाकबाट राङरुङतर्फ झर्दै गरेको ना ५ च ३२९८ नम्बरको जीप दुर्घटना हुँदा दूधपोखरी गाउँपालिका २ बिचौरको बागिश्वरी माविमा अध्यापन गराउने दुई जना शिक्षकको मृत्यू भएको र अन्य शिक्षकहरु घाइते भएका उद्धारमा खटिएका स्थानीय टेकबहादुर गुरुङले जानकारी दिए ।
शिक्षकहरु सवार जीप शनिबार साँझ साँढे छ बजे राङरुङको भीरबाट करिब ६० मिटर तलको दरौँदी नदीमा खस्दा दूधपोखरी गाउँपालिका २ बिचौरका ५५ बर्षका रामेश्वर न्यौपाने, ४५ बर्षका ठाकुर दवाडी गम्भीर घाइते भएका छन् । उनीहरुको अबस्था चिन्ताजनक रहेको र चिकित्सकले प्रमाणित नगरी यसै भन्न नसक्ने प्रहरीले जनाएको छ ।

त्यस्तै ३० बर्षका विष्णु दवाडी, २८ बर्षका अनील मरहठ्ठा, १८ बर्षका अमृत दवाडी, २६ बर्षका विष्णु न्यौपाने, २९ बर्षका अमृत दवाडी, तनहूँको व्यास नगरपालिका १ दमौलीका ३६ बर्षका सुशील नराल घाइते भएका डिएसपी प्रकाश दाहालले जानकारी दिए ।

उनीहरुलाई उपचारका लागि गोरखा सदरमुकाम ल्याइएको उनले बताए ।


नराल दूधपोखरी गाउँपालिकाका शिक्षा शाखा प्रमुख हुन् भने अन्य आठ जना लम्जुङको वागिश्वरी माविका शिक्षकहरु हुन् ।
उनीहरुलाई स्थानीयबासी, प्रहरीको टोलीले उद्धार गरेको थियो ।