श्रीलका पुलिस स्पोर्ट्स क्लबमाथि ५–१ को सानदार जित त्रिभुवन आर्मी फुटबल क्लबको

काठमाडौं । विभागीय त्रिभुवन आर्मी फुटबल क्लबले एएफसी कपको दक्षिण एसियाली छनोट अन्तर्गत प्लेअफ चरणको पहिलो खेलमा श्रीलका पुलिस स्पोर्ट्स क्लबमाथि ५–१ को सानदार पूनरागमन जित हात पारेको छ ।आर्मीले १–० ले पछि परेको अवस्था उल्ट्याउदै सानदार पूनरागमन जित हात पारेको हो । आर्मीको पूनरागमन जितमा नवयुग श्रेष्ठले दुई तथा सन्तोष तामाङ, टंक बहादुर बस्नेत र सुदिल राईले समान एक गोल गरे । श्रीलंका पुलिसका इभान्स एसान्तेले गरेको गोल सान्त्वना बन्यो ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा आर्मीले पहिलो हाफमा २–१ को अग्रता लिदा दोस्रो हाफमा ३ गोल थपेको थियो ।खेलको पहिलो मिनेटमा नवयुग श्रेष्ठको प्रहार पोस्ट नजिकैबाट बाहिरियो । चौथो मिनेटमा विवेक बस्नेत र कप्तान भरत खवासको वान टु वान पासमा विवेकको प्रहारलाई गोलरक्षक दिनेश महेन्द्रनले बचाए ।लगत्तै टेक बहादुर बुढाथोकीको क्रसलाई भरत खवास र नवयुग श्रेष्ठले भेट्न नसक्दा आर्मी अग्रता लिनबाट चुक्यो । १०औं मिनेटमा सन्तोष तामाङको झन्डै ३० यार्ड टाढाको प्रहारलाई श्रीलंकाका गोलरक्षक दिनेश महेन्द्रनले पञ्च गर्दै बचाए ।१२औं मिनेटमा कप्तान भरत खवासले गोलरक्षक दिनेशलाई बिट गर्दै गरेको प्रहारलाई गोललाइन नजिकैबाट निकोलसले क्लियर गर्दा आर्मी अग्रता लिनबाट चुक्यो ।लगत्तै सन्तोष तामाङको कर्नरमा भरत खवासको हेडरलाई डिफेन्डरले क्लियर गर्दै बचाए । २१औं मिनेटमा इभान्स एसान्तेको प्रहारलाई आर्मीका गोलरक्षक दिवश चौधरीले बचाए । २८औं मिनेटमा इभान्स एसान्तेले गोल गर्दै श्रीलंका पुलिस स्पोर्ट्स क्लबलाई १–० को अग्रता दिलाए । उनले इसाक एडेभुको पासलाई सदुपयोग गर्दै सहज फिनिस गरेका थिए ।४१औं मिनेटमा विकास खवासको थ्रु बललाई विपक्षी खेलाडीले क्लियर गरेको बललाई सन्तोष तामाङले पेनाल्टी बक्सबाहिरबाट हाफ भलीमार्फत दर्शनीय गोल गर्दै आर्मीलाई १–१ गोलको बराबरीमा ल्याए ।४३औं मिनेटमा कप्तान भरत खवासको क्रसमा नवयुग श्रेष्ठले हेडरमार्फत गोल गर्दै आर्मीलाई २–१ को अग्रता दिलाए । ५०औं मिनेटमा नवयुग श्रेष्ठको क्रस पासलाई श्रीलंका पुलिस स्पोर्ट्स क्लबका गोलरक्षक दिनेश महेन्द्रनले बचाउने प्रयास गरेपनि टंक बस्नेतले पोस्ट नजिकैबाट वान टचमा गोल गर्दै आर्मीलाई ३–१ ले अघि बढाए ।७६औं मिनेटमा इभान्सको प्रहार क्रसबारमा लागेर फर्कदा श्रीलंका पुलिस गोलअन्तर कम गर्नबाट चुक्यो । ८३औं मिनेटमा सब्सिच्युट सुदिल राईले गोल गर्दै आर्मीलाई ४–१ को अग्रता दिलाए ।इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा नवयुग श्रेष्ठले व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौ गोल गर्दै आर्मीलाई ५–१ को सानदार जित दिलाए ।