पीएसजीले बायर्नमाथि उसकै मैदानमा ३–२ को जित

फ्रेन्च फरवार्ड केलियन एमबाप्पे चम्कदा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा डिफेन्डिङ च्याम्पियन जर्मन क्लब बायर्न म्युनिखलाई पराजित गरेको छ ।पीएसजीले बायर्नमाथि उसकै मैदानमा ३–२ को जित निकालेको हो । पीएसजीको जितमा एमबाप्पेले दुई गोल गर्दा मार्किन्हसले एक गोल थपे । बायर्नका इरिक म्याक्सिम चुपो मोटिङ र थोमस मुलरले गोल फर्काएपनि हार टार्न सकेन । यो जितसँगै पीएसजीले गत संस्करणको फाइलमा भोगेको हारको बदला लिएको छ । पीएसजी गत संस्करणको फाइनलमा १–० ले पराजित भएको थियो ।एलिएन्ज एरिना म्युनिखमा बुधबार राति भएको खेलमा पीएसजीले खेलको तेस्रो मिनेटमा नै एमबाप्पेको गोलबाट अग्रता लिएको थियो । उनले नेयमारको पासमा गोल गरेका थिए । २८औं मिनेटमा नेयमारकै पासमा मार्किन्हसले गोल गर्दै पीएसजीको अग्रता दोब्बर पारे । ३७औं मिनेटमा इरिक म्याक्सिम चुपो मोटिङले गोल गर्दै खेललाई पहिलो हाफमा २–१ को अवस्थामा ल्याए । उनले बेन्जामिन पाभर्डको पासलाई सदुपयोग गरेका थिए ।६०औं मिनेटमा थोमस मुलरले योसुवा किम्मिखको पासमा गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । ६८औं मिनेटमा एन्जल डि मारियाको पासमा केलियन एमबाप्पेले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै पीएसजीलाई ३–२ को अग्रता दिलाए । त्यसपछि थप गोल निस्कन नसक्दा पीएसजी विजयी हुन सफल भयो ।यस्तै जितसँगै पीएसजीले च्याम्पियन्स लिगको सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । दोस्रो लेगमा पीएसजीलाई यही नतिजा अघिल्लो चरण पुग्न पर्याप्त हुनेछ । १–० को हारले पनि पीएसजी सेमिफाइनलमा प्रवेश गर्नेछ । बायर्नलाई सेमिफाइनल पुग्न कम्तीमा पनि २–० को जित आवश्यक छ । दोस्रो लेग पीएसजीको मैदानमा १४ अप्रिलमा हुनेछ ।