शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा लागेको डढेलो नियन्त्रणमा

काठमाडौं । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा लागेको डढेलो नियन्त्रणमा आएको छ ।
आइतबार बिहान पौने ९ बजे बुढानिलकण्ठ नगरपालिका-१ स्थित तैलुङबाट सुरू भएको आगलागी साँझसम्ममा नियन्त्रणमा आएको हो ।

डढेलो लागेपछि सिम्रिक एयरको हेलिकप्टरमार्फत पानी खसालेर डढेलो नियन्त्रणमा लिइएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी निर्देशक अनिल पोखरेल जानकारी दिए ।

आगो नियन्त्रणका लागि सिम्रिक एयरको दुई वटा हेलिकप्टर प्रयोग गरिएको थियो। करिब दुई घण्टासम्म हेलिकप्टरले पानी खसालेपछि आगलागी नियन्त्रणमा आएको थियाे ।

सुरूमा हेलिकप्टरले बुढानिलकण्ठस्थित सब्रिना होटलको छतबाट पानी ओसारेर आगलागी नियन्त्रणमा लिने प्रयास गरे पनि  आगलागी भएको क्षेत्र र होटल टाढा भएपछि वासिखुस्थित माछापोखरीबाट पानी ओसारिएको थियाे ।

पोखरीबाट करिब २० बकेट पानी ओसारेर जंगलमा हालेपछि आगो नियन्त्रणमा आएको थियाे ।

आगलागी नियन्त्रण गर्दा कम्तीमा सात लाख खर्च भए पनि सिम्रिक एयरले त्यो खर्च आफैंले व्यहोरेको  सिम्रिक एयरका फिल्ड इन्चार्ज रविन्द्र अधिकारीले जानकारी दिए।