क्रोएसियाली फरवार्ड भिलिम पोसिन्कोभिचले नेपालको एनएसएल लिग खेल्ने

वैशाख दोस्रो सातादेखि काठमाडौंमा सुरु हुने खुकुरी नेपाल सुपर लिग (एनएसएल) मा सहभागिता जनाउन क्रोएसियाली फरवार्ड भिलिम पोसिन्कोभिच नेपाल आइपुगेका छन् ।भाटभटेनी सुपरमार्केटको स्वामित्व रहेको ललितपुर सिटी फुटबल क्लबले पोसिन्कोभिचलाई सुपर लिग अवधिका लागि अनुबन्ध गरेको हो । क्लबले मार्की खेलाडीका रुपमा अन्जन विष्टसँगै अक्सनमा १४ खेलाडी यसअघि नै अनुबन्ध गरेको थियो । यसबाहेक ट्यालेन्ट हन्टबाट पनि दुई खेलाडी भित्र्याउने टोलीको तयारी छ । विदेशी खेलाडीको रुपमा पोसिन्कोभिच क्लबका पहिलो खेलाडी हुन् । क्लबले अझै दुई विदेशी खेलाडी अनुबन्ध गर्न पाउने प्रावधान छ ।३० वर्षीय पोसिन्कोभिचले युरोपेली राष्ट्रका तल्लो श्रेणीका लिग खेलेको अनुभव छ । ६ फिट १ इन्च अग्ला उनले बायाँ खुट्टा बढी प्रयोग गर्ने गर्छन् । उनी लेफ्ट विंगमा पनि खेल्ने क्षमता राख्दछन् । क्लबले उनीसँग खेल्न अर्को विदेशी फरवार्ड पनि अनुबन्ध गर्ने सम्भावना रहेको छ ।ललितपुरले राष्ट्रिय टोली तथा मनाङ मर्स्याङ्दी क्लबका कप्तान अन्जन विष्टलाई ५ लाख ५० हजार रुपैयाँमा मार्की खेलाडीको रुपमा अनुबन्ध गरेको थियो । ललितपुरले अक्सनबाट एरिक विष्ट, पाल्साङ लामा, अर्पण कार्की, कमल श्रेष्ठ, प्रवेश दनुवार,मिक्छेन तामाङ, नविन लामा, विमल राना, रन्जन विष्ट, विनोद गुरुङ, रोहित कार्की, सरोज लामा, निरज बस्नेत र गौरव बुढाथोकी किनेको थियो । टोलीको प्रशिक्षकका रुपमा प्रदीप हुमागाईं नियुक्त भएका छन् ।