गण्डकी प्रदेश सरकारको संसद अधिवेसन अन्त्य

पोखरा ।गण्डकी प्रदेश सरकार विरूद्ध विपक्षी दलहरूले अविश्वासको प्रस्ताव ल्याउने भएपछि एकाएक संसद अधिवेसन अन्त्य भएको छ। गत चैत २५ गतेदेखि शुरु भएको संसदको विधान अधिवेसन वैशाख ५ गते बस्ने गरी स्थगित भएको थियो।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठनको तयारी भएपछि सरकारले संसद अधिवेसन अन्त्य गरिदिएको हो। कांग्रेस, माओवादी केन्द्र, जनमोर्चा र जनता समाजवादी पार्टी मिलेर बिहिबार नै प्रदेश सभा सचिवालयमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरूद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी भएको थियो।

अविश्वासको प्रस्ताव दर्ता गर्न विपक्षी दलहरूले बिहिबार हस्ताक्षर संकलनको तयारी थालेका थिए।

५९ सदस्यीय प्रदेश सभामा कांग्रेसका १५ सांसद छन्। प्रदेश संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई कांग्रेसले मुख्यमन्त्रीका रूपमा अगाडि सारेको थियो।

मुख्यमन्त्री गुरूङसँग नेकपा एमालेका २७ सांसद छन्। ५९ सदस्यीय प्रदेश सभामा बहुमत पुर्‍याउन ३० जना चाहिन्छ।

कांग्रेसका १५, माओवादी केन्द्रका १२, राष्ट्रिय जनमोर्चाका २ र जसपाका दुई सांसद मुख्यमन्त्रीगुरूङ विरूद्ध उभिएका छन्। स्वतन्त्र सांसद राजिव गुरूङ आफैं मुख्यमन्त्री उठ्छु भनिरहेका छन्।

गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले बुधबार राति १ बजेदेखि प्रदेश सभाको चालु अधिवेशन अन्त्य गरेको पत्र सभामुख नेत्रनाथ अधिकारीलाई पठाएका थिए।