एक सातादेखि आइओई डीन कार्यालयमा ताला

काठमाडौं ।शैक्षिक माफियाहरूको जालोमा परेर इन्जिनियरिङ अध्ययन संस्थान (आइओई) खोक्रो हुँदै गएको भन्दै ६ बुँदे मागसहित नेपाल विद्यार्थी संघ (नेविसंघ), पुल्चोक क्याम्पसले विगत एक सातादेखि डीन कार्यालयमा ताला लगाएको छ । आइओई डीन प्राडा शशीधर राम जोशी भने वार्तामा आउनुका सट्टा फोन स्विच अफ गरेर बसेका छन् ।

वार्ताका लागि बारम्बार आह्वान गर्दा पनि डीनले कुनै चासो नदेखाएको नेविसंघ पुल्चोक क्याम्पसका अध्यक्ष बबिन बस्नेतले इन्जिनियर्स पोस्टलाई बताए । ‘अहिलेसम्म उताबाट वार्ता गरौं भनेर कुनै औपचारिक प्रस्ताव आएको छैन । हामी प्रस्तावको पर्खाइमा छौं,’ बस्नेतले भने, ‘बरु उहाँहरूले यो कुरा सेटिङ गरेर मिलाउनुपर्छ भन्ने तरखरमा हुनुहुन्छ ।’ आफूहरूको त्यस्तो मनसाय नभएका कारण डीनले वार्ता गर्न नमानेको बस्नेतको भनाइ छ ।

इन्जिनियर्स पोस्टले फोन गरेर यस विषयमा केकस्तो छलफल भइरहेको छ भन्नेबारे बुझ्नलाई डीन जोशीलाई पटकपटक फोन सम्पर्क गर्न खोज्दा  फोन अफ देखायो । ‘कतै वार्तामा आउने डरले उहाँको अफ भएको त होइन ?’ भन्ने प्रश्नमा बस्नेतले भने, ‘हुन सक्छ । किनभने हामीले उहाँलाई वार्ता गरौं भनेर फोन गरिरहेका हुन्छौं । उहाँले हामीबाट टाढा हुन खोज्नु भएको हो जस्तो लाग्छ ।’

उनका अनुसार डीनलाई ताला लागेर केही फरक परेको छैन । ‘त्यहाँ त्यति प्रभाकारी ढंगले काम हुने पनि होइन । अफिस आए पनि नआए पनि काम भनेको त्यही गफ चुट्ने नै हो,’ उनले भने ।

नेविसंघले सुल्झाउनै नसक्ने मुद्दा उठाएको छैन । डीनले चाहे यसलाई सजिलै समाधान गर्न सक्छ तर डीन वार्तामै बस्न नखोजेकोले समस्या निम्तिएको बस्नेतको भनाइ छ । ‘हामीले उहाँको कामलाई होइन कार्यकक्ष मात्रै बन्द गरेका हौं । सामान्य काम त भइरहेको छ,’ उनले भने, ‘फोन अफ गरेरै भाग्नुपर्ने कुनै कारण छैन ।’ आफूहरू आइओईकै विद्यार्थी भएकाले वार्तामा बसेर सम्झाउनुको साटो लुकेर बस्नुले उहाँहरूले साँच्चै नै गल्ती गरेको बुझ्न सकिने बस्नेतको बुझाइ छ । उनले भने, ‘यसरी फोन स्विच अफ गरेर भाग्नु समस्याको समाधान होइन ।’