चेन्नई सुपर किंग्स बिजयी

एजेन्सी ।चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को १२ औं खेलमा राजस्थान रोयल्सलाई ४५ रनले पराजित गरेको छ । यो जितसँगै चेन्नई अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ । सोमबार राती जितको लागि १ सय ८९ रनको चुनौतीपूर्ण विजयी लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा १ सय ४३ रन मात्र बनाउन सक्यो ।राजस्थानका ओपनर जस बटलरले ३५ बलमा ५ चौका र २ छक्का सहित सर्वाधिक ४९ रनको योगदान दिए । अन्य ब्याट्सम्यानले भने राम्रो प्रदर्शन गर्न सकेनन् । मनान बोहरा १४, कप्तान सञ्जु स्यामसन १, शिवम दुबे १७, डेविड मिलर २, राहुल टेवाटिया २० र जयदेव उनादकटले २४ रनको योगदान दिए । चेन्नईका स्पिनर मोइन अलीले ३ ओभरमा ७ रन खर्चेर ३ विकेट लिए । साम करण र रविन्द्र जडेजाले २-२ विकेट लिए । ड्वेन ब्राभो र शार्दूल ठाकुरको नाममा १-१ विकेट रह्यो ।त्यसअघि वानखडे स्टेडियम मुम्बईमा टस हारेर पहिला ब्याटिङ थालेको चेन्नईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८८ रन बनाएको थियो । चेन्नईका ड्वने ब्राभो ८ बलमा २ चौका र १ छक्का सहित २० रनमा अविजित रहे । दक्षिण अफ्रिका ओपनर फाफ डु प्लेसिसले १७ बलमा ४ चौका र २ छक्का सहित सर्वाधिक ३३ रनको योगदान दिए । डु प्लेसिसलाई क्रिस मोरिसले रियान परागबाट क्याच आउट गराएका थिए ।राजस्थानका युवा तीव्र गतिका बलर चेतन सकरियाले ४ ओभरमा ३६ रन खर्चेर ३ विकेट लिए । क्रिस मोरिसले ४ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए । मुस्ताफिजुर रहमान र राहुल टेवाटियाले १–१ विकेट लिए ।यो जितसँगै चेन्नई ३ खेलमा २ मा जित र १ मा हार सहित चार अंकका साथ दोस्रो स्थानमा उक्लिएको छ । रोयल च्यालेन्जर्स बेंगलोर ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा छ । दिल्ली र मुम्बईको समान ३ खेलमा २-२ मा जित र १-१ मा हारका साथ समान ४ अंक भएपनि नेट रनरेटले दिल्ली तेस्रो र मुम्बई चौथो स्थानमा छन् ।