पुल बनेपछी छुट्टियो दूरी

चितवन ।नारायणघाट–मुग्लिङ सडकखण्डको जलबीरेमा पुल बनेपछि सो सडकखण्ड २६५ मिटर छोटिएको छ । कोभिड–संक्रमणको समयमा पनि जारी रहेको पुलको काम सकिएर यसै सातादेखि संचालनमा आउने तयारी छ ।

८० मिटर लामो सो पुल रौताहा कन्स्ट्रक्सनले १३ करोड ९४ लाखको लागतमा बनाएको हो । पुलमा तीनवटा स्पान छन् ।

पुलका कारण बाटो छोटिएसँगै दैनिक २० हजारभन्दा बढी सवारी साधन ओहर–दोहर गर्ने यो बाटोबाट पेट्रोल–डिजलको बचत हुनेछ ।

साथै, दुर्घटनाको हिसाबले निकै जोखिम क्षेत्र मानिएको सो सडकखण्डमा पुल बनेपछि दुर्घटनाका घटनामा पनि कमी आउने विश्वास छ ।

सडक विभागका महानिर्देशक ई. अर्जुन जंग थापाका अनुसार ४० मिटर प्रिस्ट्रेस टि–बिम भएको यो पुलको स्टेजिङ हाइट ३१ मिटर रहेको छ । उनका अनुसार यो पुलको फल्स वर्क निरिक्षण गरेर ‘क्रश ब्रेसिङ’ थप्न लगाइएको थियो । सडक विभागले निर्माण गरेका प्रिस्ट्रेस टि–बिम पुलमध्ये धेरै उचाइ भएको यो पहिलो समेत हो ।