गौरिका र कोइराला फोर्ब्स एसियाका प्रभावशाली युवा

काठमाडौं । विश्व प्रसिद्ध फोर्ब्स म्यागाजिनले सार्वजनिक गरेको एसियाका प्रभावशाली ३० युवाको सूचीमा नेपालका दुई जना परेका छन् । मंगलबार सार्वजनिक गरिएको सूचीमा ‘इन्टरटेन्मेन्ट एण्ड स्पोर्टस्’ विधाबाट गौरिका सिंह प्रभावशाली युवाको सूचीमा परेकी छन् । त्यस्तै ‘फाइनान्स एण्ड भेन्चर क्यापिटल’ विधामा प्रकाश कोइराला पनि यो सूचीमा परेका छन् ।

फोर्ब्सले मंगलबार सूचीअनुसार विभिन्न १० विधामा प्रभावशाली ३०–३० युवाहरु समावेश छन् । सबै युवाहरु ३० वर्षमुनिका छन् ।फोर्ब्सको उक्त सूचीमा परेका प्रकाश कोइराला फिनलिट नेपालका संस्थापक हुन् । उनले सन् २००९ यता वित्तीय साक्षरता कार्यक्रम चलाइरहेका छन् । उनले सन् २००९ मा गरिबी निवारणका लागि फिनलिट नेपाल स्थापना गरेर निम्न आय भएका मानिसहरुमा आधारभूत वित्तीय शिक्षा प्रदान गर्दै आएका छन् ।

गौरिकाका बारेमा फोर्बस्ले भनेको छ, ‘गौरिका सिंह नौ वर्षको उमेर देखि पौडी खेलमा छिन् । १२ वर्षदेखि नेपालका लागि खेलिरहेकी छिन् । दक्षिण एसियाली खेलकुद (साग) मा ४ स्वर्ण, २ रजत र ३ कास्य पदक जितेकी छिन् । सन् २०१६ को रियो ओलम्पिकमा सबैभन्दा कम उमेरकी खेलाडी थिइन् ।’गौरिका १३ वर्षको उमेरमा रियो ओलम्पिकमा सहभागी भएकी थिइन् । डेढ वर्षअघि स्वदेशमा आयोजना भएको १३ औं सागमा गौरिकाले कीर्तिमानी उपलब्धी हासिल गरेकी थिइन् । नेपालका लागि पौडीको व्यक्तिगत स्पर्धामा स्वर्ण पदक जित्ने उनी पहिलो खेलाडी हुन् ।