जनकपुर–जयनगर खण्डमा रेल सञ्चालनकालागि कर्मचारीलाई तालिम

जनकपुर ।जनकपुर–जयनगर खण्डमा रेल सञ्चालनकालागि कर्मचारीलाई तालिम दिइदैछ।  विगत ७ महीनादेखि पार्किङ अवस्थामा रहेका दुईवटा रेल चलाउन तालिम दिन लागिएको हो।

रेल सञ्चालनको जिम्मा पाएको  नेपाल रेल्वे कम्पनी लिमिटेडका पुराना तथा अवकास पाइसकेका कर्मचारीहरुलाई  बुधबारदेखि तालीम दिने कम्पनीले जनाएको छ । 

कम्पनीका महाप्रवन्धक गुरु भट्टराईले रेल सञ्चालनको सेफ्टी वर्गका कर्मचारीहरुलाई तालीम दिन भारत सरकारको कोंकण रेल्वे कर्पाेरेशनका कर्मचारी जनकपुर आइसकेको बताए । 

उनका अनुसार यो तालीम २ हप्तासम्म चल्नेछ । नेपाल–भारत सिमावर्ती क्षेत्रको ३४ किलोमिटर खण्ड जनकपुर–जयनगरमा रेल चल्ने भनिए पनि आवश्यक तयारी नहुँदा र दक्ष कर्मचारी अभावमा अहिले ती रेल पार्किङ अवस्थामै छन् । 

करिब २६ सय यात्रु क्षमता रहेका ती रेल सञ्चालनका लागि कम्पनीले पटक–पटक मिति सारिदैं आएको छ । 

यद्यपी बैशाखभित्र रेल चलाउने कम्पनीको दाबी छ । असोज १ गते नेपालको जनकपुरमा आएका दुई रेल सञ्चालनका लागि कम्पनीले गत भदौ २९ गते१२९ जना कर्मचारीलाई करारमा नियुक्त गर्न विज्ञापन निकालेको थियो । तर विभिन्न समस्या आएपछि यो प्रक्रिया रोकिएको थियो ।

ताजा अपडेट