अख्तियाले अब स्टिङ अपरेसन गर्न नपाउने

काठमाडौं ।सर्वोच्च अदालतले स्टिङ अपरेसनबारे परेको रिटमा निवेदकले माग गरेबमोजिम आदेश दिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अब स्टिङ अपरेसन गर्न नपाउने भएको छ।

अख्तियारले आफै घुस रकम उपलब्ध गराएर स्टिङ अपरेसन गर्दै आइरहेको थियो । अख्तियारको नियमावलीमा कुनै सार्वजनिक पद धारण गरेको व्यक्तिले घुस रिसवत माग गरेको भनी आयोगमा पर्न आएको उजुरी निवेदनको अनुसन्धानको सिलसिलामा आयोगले आफ्ना कर्मचारी वा उजुरवाला वा अन्य कुनै व्यक्तिमार्फत् त्यस्तो सार्वजनिक पद धारण गरेको व्यक्तिलाई घुस रिसवतवापत रकम उपलब्ध गराउन सक्ने भन्ने व्यवस्था छ ।

तर, यस्तो व्यवस्था गलत रहेको भन्दै अधिवक्ता विष्णुप्रसाद घिमिरेले अख्तियारको स्टिङ अपरेसन खारेज गर्न माग गर्दै सर्वोच्चमा निवेदन दिएका थिए । सोही निवेदनको आधारमा सर्वोच्चले निर्णय गरेको हो ।आदेशको इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहित पाँच जना न्यायाधीश थिए ।