नेपाल समूहले ओलीले सोधेको स्पष्टीकरणको जवाफ बुझाउने तयारीमा

काठमाडौं । नेकपा माधव नेपाल पक्षका सांसदहरूले आफूलाई अध्यक्ष केपी शर्मा ओलीले सोधिएको स्पष्टीकरणको जवाफ आज बुझाउने तयारीमा छन् ।

ओलीले नेपाल पक्षका संघका २७ र कर्णाली प्रदेशका ५ सांसदलाई ६ वैशाखमा स्पष्टीकरण सोधेको थियो ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले हस्ताक्षर गरेको स्पष्टीकरण एकै व्यहोराको छ ।

६ गतेको केन्द्रीय कमिटी बैठकले यसअघि निलम्बन गरिएका चार नेतासहित कर्णालीका फ्लोर क्रस गर्ने, गर्न उक्साउने र संघीय संसदमा पनि फ्लोर क्रस गर्ने सांसदलाई दुई दिनको समय दिएर स्पष्टीकरण मागेको थियो ।

तोकिएकै समयमा नै सबै सांसदले बेग्ला बेग्लै गरेर आजै सबैले स्पष्टीकरण बुझाइसक्ने सांसद जीवनराम श्रेष्ठले बताएका छन् ।

स्पष्टीकरण बुझाउनुअघि नेपाल पक्षका सांसदहरूले बुद्धनगरस्थित साहाना स्मृति प्रतिष्ठानमा स्पष्टीकरण बुझाउने विषयमा सामूहिक छलफल भएको श्रेष्ठले जानकारी दिएका छन् । 

यसैबीच नेता सुरेन्द्र पाण्डले पनि स्पष्टीकरण बुझाएका छन् । भने उनले बुझाएको स्पष्टकरणमा प्रधानमन्त्रीले चालेको कदम विधानविपरीत भएको जिकिर गरेका छन् ।