गाउँपालिका अध्यक्ष र वडाअध्यक्ष बारपाकबासीको घेरामा

गत फागुन १० गते एकै घरका तीनजनाको रहस्यमय मृत्यू भएको घटनाको यथार्थ प्रतिवेदन सार्वजनिक गर्न दबाब दिदै बारपाकका बासिन्दाले गाउँपालिकाका अध्यक्ष तथा वडाअध्यक्षहरुलाई घेरामा राखेका छन् । बारपाक सुलीकोट गाउँपालिकाका अध्यक्ष विष्णु भट्ट, वडा नं. १ का अध्यक्ष रोशन विक र वडा नं. २ का अध्यक्ष लालबहादुर गुरुङ आइतबार दिउसो दुई बजेदेखि बेलुका नौ बजेसम्म पिडित पक्षले घेरामा राखेका हुन् ।


एकबजे प्रमुख जिल्ला अधिकारी शालिग्राम पौडेलको रोहबरमा एसपी शेखर खनालले कार्वनमनोअक्साइड भरिएको र अक्सिजनको कमी हुँदा ८४ वर्षिय टिलबहादुर गुरुङ, २२ वर्षिया आईतकुमारी गुरुङ र १३ वर्षिया उषा गुरुङको मृत्यू भएको प्रतिवेदन सार्वजनिक गरेका थिए । तर प्रतिवेदनप्रति असहमति जनाउँदै गाउँलेले प्रतिवाद गरेका वडा सदस्य धनबहादुर घलेले बताएका छन् । ‘उपस्थित भएका सवैको सामु प्रतिवेदन सुनाउनु पर्छ भन्ने गाउँलेको माग थियो, तर उहाँहरुले जनप्रतिनिधि र पिडित परिबारलाई मात्र सुनाएर फर्किनु भयो । यसप्रति पनि गाउँले आक्रोशित बने’, घलेले भने, ‘रिपोर्ट पनि विश्वासनीय भएन । त्यसैले असन्तुष्ट पक्षले सिडिओसाव र एसपी सावसँगको आक्रोश गाउँपालिका अध्यक्ष र वडा अध्यक्षहरुमाथि पोखेका हुन् ।’ पिडित पक्ष र उनका समर्थकले जनप्रतिनिधिहरुलाई दिउँसो एकबजेदेखि बेलुकी नौबजेसम्म वडा कार्यालयभित्र घेरामै राखेका उनले बताए ।


राती नौ बजेपछि जनप्रतिनिधिहरु घेरामुक्त भएका स्थानीयबासीले बताएका छन् ।
तर एसपी खनालले भने असन्तुष्ट समूह र जनप्रतिनिधिहरु बीच लामो समय छलफल चलेको दाबी गरे 

ताजा अपडेट